पूर्वाञ्चल विश्वविद्यालयले भौतिक उपस्थितिमा परीक्षा लिने



काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले सबै तहको परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन गर्ने भएको छ ।

आगामी मंसिर अन्तिम सातादेखि नियमित तथा आंशिक परीक्षाहरू स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न लागिएको विश्वविद्यालयका परीक्षा नियन्त्रक सूर्यप्रसाद संग्रौलाले जानकारी दिए । परीक्षार्थीहरूलाई आफू अध्ययनरत कलेजमै परीक्षा दिने व्यवस्था मिलाइने संग्रौलाले बताए । उनका अनुसार एउटा हलमा २० जना नबढ्ने गरी परीक्षार्थी राखिने र पुससम्ममा सबै परीक्षा सम्पन्न गर्ने विश्वविद्यालयको तयारी छ ।

‘विश्वविद्यालयबाट निरीक्षक खटाएर सम्बन्धित कलेजमै परीक्षा सञ्चालन गर्ने तयारी छ’, उनी भन्छन् । तिहार लगत्तै सबै संकायको परीक्षा तालिका सार्वजनिक गरिने परीक्षा नियन्त्रक संग्रौलाले जानकारी दिए । विश्वविद्यालयले नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण १३ असोजदेखि २८ कात्तिकसम्म ‘टाइमबाउण्ड होम एक्जाम’ सञ्चालन गरेको थियो ।