कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म २ लाख २ हजार ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै हालसम्म मृतकको संख्या ११ सय ७४ पुगेको छ। यसैगरी हालसम्म कुल १ लाख ६२ हजार २४३ जना निको भएका छन् भने १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण भएको छ। नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ।

मन्त्रालयका अनुसार बुधबार २ हजार ५६९ जना संक्रमित थपिएका छन् भने १ हजार ६६६ जना निको भएका छन्। यस्तै ३८ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना निको हुने दर ८० प्रतिशत रहेको छ भने अझै क्वारेन्टिनमा ११०९ जना रहेका छन्।

स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ११७७ पुगेको हो। यस्तै पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पीसीआर परीक्षण भएको छ। यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १२६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै काठमाडौंमा संक्रमितको संख्या ७५ हजार ३२०, ललिपुरमा १० हजार ७५१ र भक्तपुरमा ६ हजार ७६५ जना पुगेको छ। जसमध्ये अहिले पनि काठमाडौंमा १७ हजार १६४, ललितपुरमा २५०६ र भक्तपुरमा १२७५ जना सक्रिय संक्रमित रहेका छन्।

यसैगरी काठमाडौंमा हालसम्म ५७ हजार ८६७, ललितपुरमा ८ हजार १६८ र भक्तपुरमा ५ हजार ४१६ जना संक्रमण मुक्त भएका छन्। यसैगरी काठमाडौंमा २८९, भक्तपुरमा ७४ र ललितपुरमा ७७ को मृत्यु भएको छ। हाल मनाङ बाहेक देशका अरु सबै जिल्लामा सक्रिय सक्रमित रहेको मन्त्रालयले जनाएको छ।