गरगहना लुट्ने व्यक्ति बाह्र वर्षका लागि जेल चलान


त्रिशुली। बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन्।

अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका सूर्यगढी गाउँपालिका–३ बागेश्वरीका ३१ वर्षका तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएसँगै उनी कारागार चलान भएका हुन् ।

तामाङले २०७३ साल भदौ २७ गते साँझ नुवाकोटको लिखु गाउँपालिका–३ सूर्यमतीका निर्मला राईको नगद रु एक लाख र उनले लगाएको करिब रु पाँच लाख मूल्य बराबरको गरगहना चोरी गरेको अभियोगमा जिल्ला अदालत नुवाकोटले दोषी ठहर गरेको थियो ।

जिल्ला अदालतले २०७३ साल फागुन ३ गते सुनाएको फैसलाअनुसार तामाङलाई ‘रहजनी चोरी’ मुद्दामा दोषी ठहर गर्दै १२ वर्ष दुई महिना जेल र रु एक लाख २२ हजार १६० जरिवाना तोकिएको थियो । अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका उनलाई विशेष सुराकीको आधारमा नुवाकोट प्रहरीले काठमाडौंबाट पक्राउ गरेर फैसला कार्यान्वयनको लागि सोमबार नुवाकोट जिल्ला अदालतमा बुझाएको थियो । रासस