काठमाडौँ। अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन निर्वाचित भइसके पनि आफ्नो हार स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट बर्खास्त गरेका छन्।
केही दिनयता ट्रम्प र एस्परका फरक मत सार्वजनिक हुँदै आएका थिए। अब नेशनल काउन्टर टेररिजम सेन्टरका प्रमुख क्रिस्टोफर मिलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने बताइएको छ। एस्परलाई बर्खास्त गरेलगत्तै मिलर पेन्टागनस्थित रक्षा मन्त्रालय प्रवेश गर्दै गरेको देखिएको बीबीसीले जनाएको छ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडनले पदभार ग्रहण नगर्दासम्म ट्रम्पले निर्णय गर्न पाउँछन्। बाइडनले आगामी जनवरी २० मा अमेरिकाको ४६औं राष्ट्रपतिको पदभार ग्रहण गर्दैछन्।