ओलीले सरकारको नेतृत्व गर्ने नैतिकता गुमाए: उपेन्द्र यादव


रौतहट। जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीले सरकार सञ्चालन गर्ने नैतिकता गुमाएको टिप्पणी गरेका छन्।

रौतहटको देवाही गोनाही नगरपालिकामा सोमबार आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो टिप्पणी गरेका हुन्।

‘आफैले निर्माण गरेको संविधान उल्ट्याउनु र सरकारको नेतृत्व गरेर बस्न अब प्रधानमन्त्री ओलीलाई नैतिकताले दिँदैन’ अध्यक्ष यादवले भने। अध्यक्ष यादवले संघीय सरकारले प्रदेश सरकारको सबै अधिकार कटौती गरेको आरोप लगाउँदै अब सरकारविरुद्ध अर्को आन्दोलनको आवश्यकता रहेको चेतावनी समेत दिए।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले भने, ‘प्रदेश सरकारको आफ्नो शासन, आफ्नो प्रशासन र आफनै नियम कानुन हुन्छ तर संघीय सरकारले सबै अधिकार कटौती गरेको छ। मधेसी जनताको अधिकार र पहिचानको लागि फ़ेरि अर्को आन्दोलनको आवश्यकता देखिँदै गएको छ।’ उक्त आन्दोलनको नेतृत्व जनता समाजवादी पार्टीले लिन तयार रहेको बताए।