भनिन्छ, संगत गुन, पारंगत। आदर्श मान्छेको संगत गरे, उत्तम मान्छे बनिन्छ। खत्तम मान्छेको संगत गर्दा झन् खत्तम बनिन्छ। खराब मानिसको संगत गर्दा खत्तम बन्नु र असल मानिसको संगत गर्दा असल कहलिनुमा केही तर्क, कारण र सत्यहरु छन्। यति उल्लेख गरिसकेपछि आलेखको शीर्षमाथिको अर्थ खोज्नु आवश्यक रहेन। तथापी राजनेतासँग लाजनेता शब्दको तुलना किन गरियो ? यो अवस्था किन आयो ? के हाम्रो देशमा राजनेता जन्मिएका छन् ? कसलाई भन्ने राजनेता ? किन नभन्ने लाजनेता? यस्ता प्रसँगहरुको बारेमा केही चर्चा भने अवश्य गर्ने जमर्को गरिने छ।
राजनेता कि लाजनेता ?
पूर्वीय सभ्यतामा बुद्ध, कन्फ्युसियस, माओ, मुनु स्मृति, महात्म गान्धी र पश्चिमा सभ्यताका प्लेटो, शुकरात, अरस्तु, मार्क्स, एंगेल्स, लेनिन, नेल्सन मण्डेलालगायतका व्यक्तिहरुलाई विश्वले राजनेता तथा एक आदर्शका रुपमा लिईएको पाईन्छ। मार्क्स, लेनिन, माओलाई त विश्वका मजदुरहरुले आफ्नो मुक्तिदातासम्म सम्झिन्छन्। उनीहरुको विचारलाई रक्षा गर्न आफ्नो जीवनदान गर्न पछि पर्दैनन्।
आधुनिक चीनका निर्माता देङ स्याओ पिङ, नेपालका विपी, पुस्पलालहरु, कृष्णप्रसाद भट्टराई, गणेमान, मदन भण्डारीहरु जस्ता नेताहरुलाई आदर्श व्यक्तिको रुपमा हेर्ने गरिन्छ। त्यस्तै चिनका वर्तमान राष्ट्रपति सि जिङ पिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र दास (मोदी), अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबालाई विश्वका मानिसहरुले रोजाइको पात्रका रुपमा लिएको पाईन्छ। अब हाम्रो देश तर्फ लागौं। हाम्रो देशमा जिवित व्यक्तिहरु कोही पनि आर्दश व्यक्ति होईनन् ? जसको नाम निर्धक्क लिन सकियोस्। यस सन्दर्भमा प्रा.डा.सुरेन्द्र केसीले एउटा अन्तरवार्ताका क्रममा भनेका छन्, ‘मेरो नजरमा आदर्श तथा राजनेताका रुपमा लिनुपर्ने एउटा नाम छैन।’
के हाम्रो देशमा दुरदर्शी राजनेताको जन्म नभएसम्म यस्तै भइरहन्छ ? यो चाँहि गम्भीर प्रश्न हो। राजनीतिक शास्त्रले भन्छ, ‘नेता हरेक आन्दोलनले जन्माउन सक्छ ! तर, राजनेता युगले जन्माउने कुरा हो।’ यस सर्वब्यापि मान्यतालाई मान्ने हो भने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनाल आदी जतिपनि नेतृत्वदायी तहमा रहेका नेताहरु छन्। उनीहरु मध्ये कोही, कसैलाई राजनेता भन्न मिल्दैन? के उनीहरु आदर्श नेताको उपमाले सम्बोधन गर्न लायक छैनन्?
यो प्रश्न पनि गम्भीर छ। तर, उक्त प्रश्नको उत्तर भने सजिलो छ। उनीहरुलाई राजनेता या आदर्श व्यक्तिका रुपमा सम्बोधन गर्नुपूर्व केही कुराहरुलाई स्मरण गर्नुपर्छ। उनीहरुको विगत र वर्तमान हेरौं। उनीहरुले बोकेको विचार र उनीहरुले गरिरहेको व्यवहारबीचको तादात्म्यता खोजौं। सत्ता बाहिर हुँदा उनीहरुले बोलेका कुराहरु र सत्तामा हुँदा उनीहरुले गरेका कार्यहरुको निश्पक्ष ब्याख्या गरौं। यति गर्ने हो भने उल्लेखित नामहरुलाई नम्बरिङ गर्न कुनै गाह्रो हुँदैन। तर, हाम्रो देशमा कार्य क्षमता, विचार, दृष्टिकोण र योगदानका हिसाबमा नभएर पार्टी, गुटको हिसाबमा नेताहरुलाई सम्मान र परिभाषित गर्ने गरेको पाईन्छ। त्यति मात्रै होईन केही पत्रकार नामका पात्रहरुले पनि उनीहरु मध्ये केहीलाई राजनेता भनेर सम्बोधन गरेको सुनिन्छ।
विद्य्यमान व्यवस्था र देशको अवस्था देख्दा लाग्छ यहाँ एक जना नेतामा दुरगामी सोच छैन। आर्दश नेता मान्नुपर्ने पात्र छैन। यो देशमा भावि पुस्ताले आदर्शको रुपमा सम्बोधन गर्न लायक एक जना नेता छैन। एक जना कर्मचारी छैन। उदाहरण दिन लायक व्यक्ति छैन। यि जम्मै कुराहरुलाई नजरअन्दाज गरेर हामी भन्छौं देश खराब। यो देशमा बसेर के गर्ने ? यो देश हरेक रुपमा सुन्दर छ, तर, यहाँका राजनीतिक दल, कर्मचारीहरु, अधिकारवादीहरु र जनताहरु खराब छन्। यहाँको राजनीति, अर्थनीति, विकास, परिर्वतनलाई संस्थागत गरिदिन कोही विदेशी आउने हो र? हाम्रो देश बनाउने जिम्मा नेपालीहरुको नभई कुनै बिदेशीको हो ? किन हामी कर्तव्यच्युत हुँदैछौं ?
लाज पनि लजाउने अवस्था
राजनीतिलाई लाजनीति बनाउनेहरु को हुन् ? आफ्नो पार्टीको विचार र सिदान्त पोलेर खानेहरु को हुन् ? आन्दोलनलाई अलपत्र पार्नेहरु को हुन् ? क्रान्तिलाई धोका दिने को हुन् ? गणतन्त्रमा निषेधको राजनीति गर्ने को हुन् ? आफूलाई नवराजा सम्झिने को हुन् ? विचार समाजवाद भन्ने, व्यवहार नातावादी गर्ने को हुन् ? पदको लागि गुट, फुुट र टुटको राजनीति गर्ने को हुन् ? राजनीतिको नाममा लुट मच्चाउने को हुन् ? चुनावलाई महंगो बनाउने को हुन् ? भ्रष्टचार गर्ने को हुन् ? भ्रष्टाचारीलाई प्रोत्साहन गर्ने को हुन् ? दलाल, विचौलीया र माफियाहरुसँग घाटी जोड्नेहरु को हुन् ? करोड र अर्बौ आर्थिक अनुसाशनहिनका आरोपबाट मुक्त नभएकाहरु को-को हुन् ? तीन पुस्ताका लागि अनैतिक सम्पत्ति कमाउने र विदेशी बैंकमा धन लुकाउनेहरु को हुन् ?
शक्ति, सम्पत्ति र सत्ताको लागि आफूलाई सर्वेसर्बा सम्झिने को हुन् ? पार्टीको नेतृत्व होस् या सरकारको। कुनै पनि नेतृत्वदायी भूमिकामा आफू बाहेक, आफ्नो जात बाहेक, आफ्नो गुट बाहेक अरुको सम्भावना र योग्यता नदेख्ने को हुन् ? अरुको अस्तित्व र पहिचानको सम्मान गर्न नसक्ने को हुन् ? स्वेच्छाचारी र दम्भवादी को हुन् ? पदका लागि मरिमेट्ने को हुन् ? दुई/दुई पटक देशको कार्यकारी र राष्ट्रध्यक्ष पदमा विराजमान हुँदा पनि दास ढुङ्गा घटनालाई दुर्घटना हो या हत्या हो ? त्यो पत्ता नलगाउने को हुन् ? बारम्बार राजनेता र आदर्थ पात्र बन्ने अवसरलाई वास्ता नगर्ने को हुन् ? सत्ता र शक्तिमा हुँदा परिवर्तनको हकदार आफन्तलाई मात्र देख्नेहरु को हुन्? यि सबै प्रश्नहरुको उत्तरका पात्रहरुको नाम तोक्नु पर्दैन होला। तर, लुतो लागेपछि चिलाउन पाउनु पर्छ। तसर्थः वर्तमान व्यवस्थाका हकदार र अस्तव्यस्त अवस्थाका भागिदार माथि उल्लेखित नामहरु नै हुन्।
बिडम्बना यस्ता प्रश्न र आरोपबाट मुक्त हुन नसक्ने र नभएका नेताहरुलाई आदर्श व्यक्ति, राजनेता मान्नेहरुको कमी भने छैन। आफ्नो पार्टीको, आफ्नो गुटको, आफ्नो नजिकको नेताहरुलाई धान्न नसकिने उपमा भिराएको पाईन्छ। सम्बन्धित नेताका पार्टी कार्यकर्ताहरु उनीहरुलाई महान नेता मानिरहेका छन्। यस्ता नेताहरुको संगत गर्ने, स्कुलिङ र बाटोमा हिडिरहेका युवा नेताहरु भोलिका नेता वा राजनेता बन्लान् ? असम्भव! कुहिएको आलुमा मिसिएका अन्य सद्दे आलु पनि कुहिन्छन्।
भ्रष्टाचारी, दुराचारी, पापी परजिवीहरुको छत्रछायाँमा हुर्केका जुकाहरु भोलिका कर्णाधार बन्न सक्दैनन्। नेतृत्वको कम्जोरीलाई लुकाएर महिमागान गाउने, ढोका कुर्ने, १३ दिने, गुटको आधारमा संरक्षण पाएकाहरुबाट के आस गर्ने? जोडि बाँधेर संसद छिर्न लाज नमान्नेहरु छन्। आसक्त चासो र प्राथमिकता राख्नेहरु छन्। संवैधानिक व्यवस्था र शासनको धज्जी उडाउनेहरु छन्। कसैलाई अवसरै अवसर, कसैलाई बेखबर? वर्तमान राजनीति देखेर बिचरा लाज पनि लजाई सक्यो होला! जनताहरुको के कुरा ?
निरास हुनुपर्ने समय अझैं आएको छैन
यति भन्दैमा निरास हुनुपर्ने समय अझैं आएको छैन। सुधार्न सकिन्छ। कन्फ्युसियसको सिद्धान्त लागू गर्न सकिन्छ। स्थानीय तहको वडा अध्यक्षले गाउँपालिको अध्यक्ष बन्छु भन्ने सपना देख्नुपर्छ। गाउँपालिका वा नगरप्रमुखले प्रदेश सांसद बन्छु भन्ने सपना देख्नुपर्छ। जिल्लाको नेताले संघीय सांसद तथा मन्त्री बन्नुछ भन्ने सपना देख्नुपर्छ। कार्यकर्ताले नेता र नेताले राजनेता बन्ने सपना देख्नुपर्यो। आदर्श व्यक्ति बन्ने कोसिस गर्नुपर्यो। विपी, पुस्पलाल, मदन भण्डारीहरुको नाममा राजनीति गर्ने तर, उनीहरुको विचारलाई पोलेर खानु भएन। कम्युनिष्ट विचारको साइनबोड राखेर खोलिएका राजनीतिक सटरहरुमा के ब्यापार गरिँदैछ ? कसलाई अपार बनाईंदैछ ? यतातिर ध्यान दिनुपर्यो।होइन भने, मेरो कार्यकाल यति हो, यहि समयमा लुट्नुपर्छ। अर्को पालो आउँदैन, पाउँदैन भन्ने हो भने तीनपुस्ते सम्पत्ति त कमाईन्छ। तर, सामाजिक मर्यादाको शीर क्षेदन हुने पक्का हो। देश बन्नलाई एकाध मानिहरु लगशिल इमान्दार र उत्तरदायी बन्नुपर्छ। अर्को सत्य केही व्यक्तिका कारण देश भत्किने र बिग्रिने होईन, असल भनिने मानिसहरु मौन बस्नाले देश पछिपर्छ।
कुनै पनि गैरकानूनी र अनैतिक काम गर्नुपूर्व मैले एकदिन मर्नुपर्छ। मर्दा लिएर जाने केही छैन। रित्तो जन्मियो, रित्तो जाने हो भन्ने कुराको हेक्का हुनुपर्छ। कुनबेला अन्तीम पल हुन्छ ? थाह छैन। तर, तीन पुस्ते सम्पत्ति जोड्ने लालचा छ, त्यो त्याग्नुपर्यो। आफ्नो लागि मात्रै होईन अरु जीवनको लागि पनि भरोसा बन्न सक्ने हैसियत राख्नुपर्छ। जस्तो एलेन मस्कले धर्ती सखाप हुँन लाग्दा मान्छेको बिउ जोगाउन मंगलग्रहमा बस्तिको कल्पना गरे। पुनःप्रयोग हुने रकेट बनाए।
सय वर्षपछि के होला ? त्यो कपल्ना सपना केही नदेख्ने, यस्तो विचार मन्थनको अपेक्षाका सामु एक कदम अघि र एक कदम पछिको कुरासमेत हेक्का नराख्ने, आफ्नो निर्वाचन क्षेत्र, जिल्ला, बाहेक, गुट बाहेक अन्यत्र नदेख्ने मन्त्री, नेताहरुलाई कसरी राजनेता मान्ने ? प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, शक्तिशालि नेताहरुको जिल्लामा विनियोजन गरेको वजेट र अन्य जिल्लामा विनियोजन गरेको बजेटबीच तुलना गरौं अनि भनौं उनीहरु नेता, राजनेता भन्ने लायक छन् ? उनीहरु राजनेता हो कि दुराचारी नेता हो ? कि कुनै पनि शब्दको गरिमा र अर्थ छैन ? मजदुर, दलित, महिला, पीछडा वर्ग, समूदाय र राष्ट्रियताको पगरी गुथेर पदको खुट्किलो बनाउनेहरुलाई राजनेता सम्झिनु पर्ने ?
अन्त्यमा, सबैभन्दा पहिले कार्यकर्ताहरु सच्चिनु पर्छ। नेतृत्वलाई सच्याउनु पर्छ। समयमै नसच्चिने हो भने, नेता तथा राजनेता बन्ने सपनाहरु कार्यकर्तामै भङ्ग हुन सक्छन्। साथै अमेरिकामा राष्ट्रपति डोनाल ट्रम्पको जस्तै पतन र उनी जस्तै लाजनेता बन्नु पर्ला। सम्पूर्ण कार्यकर्ताको पनि नेता र नेताको पनि राजनेता बन्ने मनमा हरि पलाओस्। हरेक कार्यकर्ताको मनमा बस्न सक्ने, जनताको मनमा बस्न सक्ने नेता जन्मिनुपर्छ। नेतृत्वको अनुहारमा कान्ति, सम्भावना, त्याग, निष्ठा, वैचारिक तथा सैदान्तिक क्षमता र आशा अपेक्षा देख्न सकियोस्। कार्यकर्ताहरुमा नेतृत्वलाई प्रश्न गर्नसक्ने क्षमता बृद्धि होस्। आसक्त महिमागान र अन्धभक्ति पूजा गर्ने काम बन्द होऔन। राजनीति निःस्वार्थ र निःशर्त बनोस्। लाजनेता होईन, राजनेता बन्ने लक्ष्य निर्धारण होस्। नजिँकिदै गरेको तिहार र छठ पर्वको शुभकामना।