काठमाडौँ। ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को ठाउँमा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न संसदीय समितिले निर्देशन दिएको छ।
सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको छलफलमा यस्तो निर्देशन दिएको हो। समिति सभापति शशी श्रेष्ठले सरकारले गरेको निर्णय र कानून मन्त्रालयले गरेको निर्णयमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्रै लेख्नुपर्ने अवश्यकता भए संसदबाट निर्णय गर्नुपर्ने बताए। उनले त्यस्तो अवस्था नभए निर्णय फिर्ता गर्नुपर्ने भएकाले कार्यान्वनयन नगर्न निर्देशन दिइएको बताइन्।
उनले भनिन्, ‘सरकारले गरेको निर्णयमा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले गरेको निर्णयमा विभिन्न कुटनीतिक नियोगबाट हुने पत्राचार र सरकारी लिखितहरुमा औपचारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने गरिएकोमा अब उप्रान्त ‘नेपाल’ मात्रै लेख्ने भनेर भनेकोमा आवश्यकता भए संसदबाट गर्नुपर्छ। नभए फिर्ता गर्नुपर्छ भन्ने सबै माननीयहरुको भनाई रहेकाले त्यो कार्यान्वयन नगर्न निर्देशन दिइन्छ।’