कर्णालीको आकर्षण: बुलबुले ताल (फोटो फिचर)



सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरको मुटुमै पर्छ मनोरम बुलबुले ताल।

करिब साढे ३१ विगाह १४ कट्ठा क्षेत्रफलमा फैलिएको बुलबुले उद्यान कर्णालीको मुख्य पर्यटकीयस्थलको रुपमा परिचित छ। सुर्खेतमा पुग्ने प्रायःमानिसहरु बुलबुले तालको स्पर्श नगरि सायदै फर्किंदैनन्। यो तालमा गरिमा गानहरुका रुपमा सयै गीतहरु बजारमा सुन्न पाइन्छ। गीतसंगीतको माध्ययबाट देशभर चिनिएको यस तालका धार्मिक तथा पौराणीय मान्यता फरकै छन्।

यो तालका बारेमा इतिहास खोतल्ने हो भने सुर्खेतमा जब मानव वस्तीको सुरुआत भयो, त्यतिबेलादेखि नै जमिनमुनिबाट बुलबुल गर्दै पानी निस्किएका कारण बुलबुले नाम राखिएको यहाँका अगुवाहरु बताउँछन्। बुलबुले तालको अर्को आश्चर्य तालमा पात झार्नासाथ चराले टिपेर लैजाने गरेको बताइन्छ। तालको पानी कञ्चन असाध्यै कञ्चन देखिन्छ।

यसभन्दा अगाडि राष्ट्रगूरु योगी नरहरिनाथले यो तालको नाम बाँडगंगा राख्नुभएको इतिहास छ। बुलबुले ताल पर्यटकीयस्थल मात्रै नभइ धार्मिकस्थलका रुपमा पनि वर्षौँदेखि चिनिँदै आएको छ।

यो तालमा माघी नुहाउने, पूजा पाठ गर्ने, पिपलपानी हाल्नेलगायत परम्पराका कारण धार्मिक आस्था पनि बुलबुले तालसँग जोडिएको छ। बाह्रै महिना जमिनमुनिबाट निस्किएको पानीलाई संरक्षण गरी तालको निर्माण गरिएको हो। प्राकृतिकरुपमा स्थापित भएको बुलबुले ताल धार्मिक तथा पर्यटकीयस्थलका रुपमा स्थापित हुन पुग्यो।

विसं ०३० सालमा तत्कालीन राजा वीरेन्द्रले उद्यानको रुपमा विकास गर्नुपर्छ भनेर दिएको निर्देशन अनुसार नै बुलबुले उद्यानको निर्माण गर्न थालियो। विसं ०४५ सालमा बुलबुलेको विकासका लागि राज्यबाट सम्वोधन भएको थियो।

ताल वरिपरि निर्माण गरिएका विभिन्न उद्यान, शक्तिपीठ र यहाँ फूलेका रंगीचंगी फूल अनि हरियाली वातावरणले जोकोहीको पनि मन लोभ्याउँछ। बुलबुले ताल शान्त वातावरणका साथ प्राकृतिक सुन्दरताले भरिएको ताल हो। यहाँ पुग्ने जो कोही पनि प्रकृतिको स्वर्गीय आनन्द लिएर फर्कन्छन।

बुलबुले आन्तरिक पर्यटकका लागि पिक्निक स्थल पनि हो। अहिले बुलबुलेको विकासका लागि उपत्यका नगर विकास समितिले गुरुयोजना नै बनाएर लागेको छ। तालमा पुग्ने पर्यटकलाई डुंगामा सवार गर्ने व्यवस्था पनि छ। सवा करोडको लागतमा अहिले उद्यानको स्तरोन्नतीको काम पनि भइरहेको छ।