काठमाडौँ। अमेरिकी राष्ट्रपतीय निर्वाचनमार्फत ४६औँ राष्ट्रपतिमा विजयी भएका जो बाइडेनलाई विश्वभरबाट वधाई तथा शुभकामना दिनेहरुको भीड बढिरहेका बेला रुसले भने यो समाचार तयार पार्दासम्म शुभकामना दिएको छैन।
विश्वका अधिकांश मुलुकको नेतृत्वले राष्ट्रपतिमा विजयी बाइडेनलाई शुभकामना दिएपनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिक्रिया नजनाउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्याहरुले जनाएका छन्। राष्ट्रपति पुटिनले वाइडेनलाई वधाई दिन न कुनै ट्वीट गरेका छन्, न टेलिफोन गरेका छन्, न त कुनै वधाई सन्देशसहितको चिठी पठाएका छन्।
यसैबीच रुसी सरकारी समाचार च्यानलले भने उल्टै अमेरिकी निर्वाचनमाथि प्रश्न उठाउँदै कडा आलोचना गरेको छ। रुसी सरकारी च्यानलका विवादास्पद कार्यक्रम सञ्चालक दिमित्री किस्लेभले अमेरिकी निर्वाचनका बारेमा थुप्रै प्रश्नहरु उठाएका छन्। उनले आफ्नो साप्ताहिक कार्यक्रममा भनेका छन्ः ‘अमेरिकी चुनाव प्रणाली यति परम्परावादी र पुरानो छ कि यो डाइनोसर जत्तिक्कै पुरानो छ। म यसलाई लोकतान्त्रिक भन्न सक्दिन।’
उनले भने–‘अमेरिकी राष्ट्रपति ट्रम्पले डेमोक्रयाट्सहरुले ब्यालेट कब्जा गरेको आरोप लगाइरहेका छन्। उनले आफुलाई हराउनका लागि षडयन्त्र गरेको आरोप समेत लगाइरहेका छन्, यद्यपि, ट्रम्पले आरोप प्रमाणित गर्ने कुनै प्रमाण भने जुटाउन सकेनन्।’ रसियामा किसलेवलाई पश्चिमी देशहरुकाविरुद्ध बोल्ने कार्यक्रम सञ्चालक भनेर चिनिन्छ।
उनले निर्वाचनका बेला ट्रम्पको भाषण बीच बीचमा काट्ने अमेरिकी टिभी च्यानलहरुको पनि कडा आलोचना गरेका छन् । त्यस्तै,चीनले पनि आइतबारसम्म बाइडेनको जितप्रति कुनै प्रतिक्रिया जनाएको छैन।