प्रधानमन्त्री ओली र माधव नेपालबीच अर्थपूर्ण भेट



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अन्तरविरोधको आगो बलिरहेको बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सम्पन्न भएको छ।

शनिबारमात्रै कार्यकारी अध्यक्ष प्रचण्ड र नेता नेपालसहित पाँचजना सचिवालय सदस्यले बैठक बोलाउन लिखितपत्र ओलीलाई बुझाएका थिए। त्यसक्रमा ओली र प्रचण्सहितका नेताहरुबीच कटुतापूर्ण सवाल जवाफ भएको थियो।

प्रचण्डलगायतका नेताहरुसँगको कटुतापूर्ण सवाल जवाफ भएको भोलिपल्ट अर्थात आइतबार नेता नेपालसँग ओलीले भेट गरेका हुन्। नेकपमा ध्रुवीकरण बढिरहेका बेला यसअघि कात्तिक ४ र ११ गते ओली र नेपालबीच भेटवार्ता भएको थियो। आइतबारको भेटलाई निक्कै चासोका साथ हेरिएको छ।

केही दिन पहिले ओली पक्षका नेताहरुको दौडधुपले प्रचण्डलाई फकाउन नसकेपछि शितल निवास कार्ड प्रयोग गरेका ओलीले अहिले नेता नेपाल कार्ड प्रयोग गर्न थालेको विश्लेषण हुन थालेको छ।

पार्टी उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादललाई राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिन पहिले बोलाएर पार्टी एकता पूरा गर्न आग्रह गरेकी थिइन।