एजेन्सी। ट्रम्पका समर्थकले मतगणनामा धाँधली भएको बताइरहेका छन्। बीबीसीसँगको कुराकानीमा ट्रम्पका समर्थकले आफूलाई बाइडेनले जितेकोमा रत्तिभर पनि विश्वास नलागेको बताएका छन्।
बीबीसी संवाददाताको एक समूहले वासिङ्टनमा जो बाइडेनका केही समर्थकलाई सोधे, ‘अब जब डेमोक्रेटिक पार्टीको चुनावमा जीत पक्का भइसकेको छ, यस्तो अवस्थामा रिपब्लिकन नेता डोनल्ड ट्रम्पका समर्थकलाई के सन्देश दिन चाहनुहुन्छ?’
कतिले भने, ‘अबका दिनमा हरेक घरमा हुने चर्चा परिचर्चाको ढर्रा फेरिनेछ।’ एक महिला समर्थकले भनिन्, ‘मलाई विश्वास छ कि जो बाइडन हरेक अमेरिकीका राष्ट्रपति साबित हुनेछन्। जो मानिसहरु चुनावमा उनीसँग थिएनन्, उनीहरुले पनि उनीमाथि विश्वास गर्नुपर्छ।’
जो बाइडेनले डेलावेयरमा आफ्नो जीतको घोषणा गरिएको भाषणमा ट्रम्प समर्थकलाई पनि सम्बोधन गर्दै भने, ‘तपाईंहरुको निराशा बुझ्न सक्छु।’ तर, ट्रम्पका समर्थक उनलाई स्विकार गर्न तयार छैनन्।
बीबीसीकी जेन ओ ब्रायनले वासिङ्टनमा ट्रम्प समर्थकसँग कुरा गरेकी छिन्। एक समर्थकलाई नतिजाबारे सोध्दा उनले भने, ‘मलाई लाग्छ, निकै ठूलो धोका भएको छ।’
‘जसरी नम्बर यति माथि गएको छ, त्यस्तो हुन सम्भव नै छैन।’ ट्रम्पले चुनावमा धाँधली भएको बताएका छन्। यद्यपि, चुनाव अधिकारीले यसको कुनै प्रमाण नभेटिएको बताएका छन् तर ट्रम्पका केही समर्थक यो आरोपमाथि विश्वास गरिरहेका छन्।