एक हप्ताभित्र कन्ट्याक्ट ट्रेसिङ व्यापक बनाईँदै



काठमाडौँ। सरकारले कोभिड–१९को सङ्क्रमण पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने भएको छ।

स्थानीय तहलाई जागरुक गराई अबको एक हप्ताभित्रमा ट्रेसिङ कार्यलाई व्यापक बनाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड–१९ फोकल पसर्न महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।

उनले उपत्यकाका प्रत्येक वडामा कन्ट्याक्ट ट्रेसिङ समूह गठन गरेर ट्रेसिङलाई व्यापक बनाउने जानकारी दिए। अहिले काठमाडौँ उपत्यकामा १५ वटा कन्ट्याक्ट ट्रेसिङ समूह रहेका छन्।

देशभरका स्थानीय तहमा एक हजार ७५ समूहले ट्रेसिङ गरिहेका थिए। ४६० गाउँपालिकामा ४६०, २७६ नगरपालिकामा ५५२, ११ उपमहारपालिकामा ३३ र ६ महागरपालिकामा ३० टोली परिचालन गरिएका छन्।

उनका अनुसार सरकारले पहिले काठमाडौं उपत्यकामा ट्रेसिङलाई केन्द्रीत गर्ने र त्यसपछि उपत्यका बाहिर गर्ने छ। त्यसै समूहले सङ्क्रमितको नजिक रहेका व्यक्तिलाई तथा सङ्क्रमितको ट्राभल हिस्ट्रिको आधारमा नजिकका आफन्त तथा घर परिवार सवैको ट्रेसिङ गर्ने छ।