तिहारलगत्तै विद्यार्थीको भौतिक उपस्थितिमा त्रिविले परीक्षा लिने



काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ।

कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै सञ्चालन गरिने जानकारी विश्वविद्यालयले दिएको छ।

त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा। पेशल दाहालले स्थगित परीक्षाका बारेमा तिहारअघि नै सूचना आउने र तिहारपछि परीक्षा सञ्चालन गरिने जानकारी दिए ।

अन्तिम तहको परीक्षा प्राथमिकतामा

विश्वविद्यालयले स्थगित गरिएकामध्ये अन्तिम तह या सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीलाई प्राथमिकता दिने योजना बनाएको छ। यस क्रममा स्नातक तह चौथो वर्ष या स्नातकोत्तर तहको अन्तिम सेमेस्टरका विद्यार्थीको परीक्षा पहिलो प्राथमिकतामा राखिएको छ। विद्यार्थीको शैक्षिक सत्र सदुपयोग हुन सकोस् भन्ने हिसाबले विश्वविद्यालयले अन्तिम तहका विद्यार्थीलाई प्राथमिकतामा राखिएको हो।

सेमेस्टरको मङ्सिर १५ पछि

विश्वविद्यालयले स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा मङ्सिर १५ पछि सञ्चालन गर्ने भएको छ। यस वर्ष मङ्सिर १ गते तिहार परेको छ। विद्यार्थीलाई दुई साताको समय दिएर परीक्षा सञ्चालन गर्न लागिएको हो। सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा सञ्चालन गर्ने अधिकारको विश्वविद्यालयको डिन कार्यालयलाई दिइएको छ। डिन कार्यालयले मङ्सिरमा परीक्षा लिने भने पनि कार्यतालिका भने सार्वजनिक गरेका छैनन्। अब डिन कार्यालयले सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको स्वतन्त्र तरिकाले परीक्षा सञ्चालन गर्न सक्नेछन्।

वार्षिकको परीक्षा अन्तिम साता

यसैबीच विश्वविद्यालयले वार्षिक परीक्षा प्रणाली अनुसार अध्ययन गर्ने विद्यार्थीको परीक्षा मङ्सिर अन्तिमबाट सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयले परीक्षा सञ्चालन गर्न आवश्यक तयारी र गृहकार्य गरिरहेको जानकारी रजिस्ट्रार दाहालले दिए।

मानविकी, शिक्षा शास्त्र, व्यवस्थापन विषयमा वार्षिक परीक्षा प्रणालीमा हजारौँ विद्यार्थी अध्ययन गर्ने भएकाले ती विद्यार्थीको परीक्षा केही सातापछि हुनेगरी लिन लागिएको हो। यस विषयमा विश्वविद्यालयले छिट्टै विद्यार्थीलाई सूचित गर्ने भएको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।