काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले १० लाख घुस रकमसहित विधुत प्राधिकरणका इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई रगेंहात पक्राउ गरेको छ।
हेटौडा–भरतपुर–वर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौ तहका इन्जिनियर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको जनाएको छ।
प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले पक्राउ गरेको आयोगको कार्यालयले जनाएको छ। हेटौँडाको बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरिएको हो।
ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इन्जिियिर जैसवालले १० लाख रकम मागेका थिए। उक्त अवैध रकम होटलमा लिने क्रममा उनी पक्राउ परेको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिए।