काठमाडौँ। नेपाली कांग्रेसकी नेता तथा वागमती प्रदेशकी सांसद कल्पना नेपालीले जातीय विभेदका बारेमा नयाँ धारणा अघि सारेकी छन्।
दलित र गैर दलितहरुबीच हुने छुवाछुतको बारेमा सायदै मानिसहरुलाई थाह छ। तर, दलितभित्र पनि जातीय विभेद हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ! सांसद नेपालीले अन्य गैर दलितसँगको आन्दोलनसँगै दलितले दलितमाथि गरिरहेका र भइरहेका विभेदहरुको अन्त्यका जुट्न आग्रह गरेकी छन्।
मोरङको उर्लावारीमा दलित समुदाय भित्रकै विश्वकर्मा थरका एक परिवारले सानो जातको भन्दै परियार थरकी बुहारीलाई संयुक्त रुपमा काजकिरिया गर्न रोक लगाएको विषयलाई लिएर सांसद नेपालीले उक्त आग्रह गरेकी हुन्। सांसद नेपालीले दलितभित्रको विभेदसँगै गैरदलितहरुले गर्ने विभेदका विरुद्ध एकसाथ लड्नुपर्ने बताएकी छन्।
१० वर्ष अघि विश्वकर्मा थरका पुरुषसँग विवाह गरेकी उर्लाबारी नगरपालिका २ की ३० वर्षीया कोपिला बर्देवा (परियार) श्रीमानको परिवारले संयुक्त रुपमा काजकिरियामा राख्न नमानेका समाचारहरु आएपछि उक्त घटनाको विरोधाभाष बनेको छ। उर्लावारी नगरपालिका ४ आइतबारेका नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा नेपाल दलित संघका केन्द्रीय सदस्य ७० वर्षीय भीमराज गहतराजको १३ कात्तिकमा मृत्यु भएको थियो।
गहतराजको मृत्युपछि उनका चार भाइ छोरा, बुहारीहरु र श्रीमती सगोलमा काजकिरियामा बसिरहेका छन्। तर, कान्छो छोरा दिवस गहतराजकी कान्छी श्रीमती कोपिला बर्देवालाई उनीहरुले सानो जातको भन्दै घरभित्र छिर्न नदिएको र काजकिरियामा सहभागि हुनबाट रोक लगाएको पाइएको छ। उक्त विषयलाई लिएर सांसद नेपालीले लेखेकी छन्, ‘गैरदलितहरुले गर्ने विभेदसँगै दलितले दलितमाथि गर्ने विभेदको पनि अन्त्यका लागि पहल गरौं।’