ओबामाको लोकप्रिय मतको रेकर्ड बाइडनले तोडे



काठमाडौँ। डेमोक्रेटिक पार्टीबाट अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनले बाराक ओबामाको लोकप्रिय मतको कीर्तिमानलाई तोडेका छन्। राष्ट्रपतीय चुनावमा सबैभन्दा धेरै लोकप्रिय मत प्राप्त गरेको नयाँ कीर्तिमान बनाउन बाइडन सफल भएका हुन्।

बाराक ओबामाले सन् २००८ मा ६ करोड ९४ लाख ९८ हजार ५१६ मत प्राप्त गरेका थिए। यसपटक बाइडनले ओबामालाई उछिन्दै ७ करोड ४ लाख २७ हजार ६०९ हजार मत प्राप्त गरिसकेका छन्।

हाल बाइडेनले वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि अग्रता कायम गरिरहेका छन्। जीतका लागि आवश्यक २७० इलेक्टोरल मत बाइडेन निकट रहेको विभिन्न मत सर्वेक्षणले देखाएको छ। सीएनएनका अनुसार मिसिगन राज्यमा जीत हासिल गरेसँगै नयाँ राष्ट्रपतिका लागि निर्वाचित हुन बाइडेन अब मात्र १७ मतले पछि छन्।

बाइडेडले हाल ट्रम्पसँग २५३–२१३ को अग्रता हासिल गरिरहेका छन्। एरिजोना, जर्जिया, नेभाडा, नर्थ क्यारोलाइना र पेन्सिलभिनियामा निकै नजिकको टक्कर भइरहेको छ।