राजनीति कि लाजनीति ?



केही समयअघि त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकले स्नातकोत्तरमा अध्ययनरत राजनीतिक शास्त्रका विद्यार्थीलाई सोधे, ‘के तपाईंहरूमध्ये कसैको सन्तान छन्? ’ केही साथीहरूले हात उठाए। ती प्राध्यापकले लगत्तै अर्को प्रश्न सोधे, ‘कति जनाले आफ्ना छोराछोरीलाई नेता बनाउने सोच राख्नुभएको छ? अथवा राजनीति गर भनेर भन्नुहुन्छ?’

जम्मा एक जनाको हात उठ्यो। यसले नेपाली राजनीतिप्रतिको आमधारणा प्रष्ट्याउँछ। सोही प्रश्न आम मानिसलाई सोध्ने हो भने पनि उही किसिमको प्रतिक्रिया आउँछ। बाटो सही हुँदा मात्रै गन्तव्य भेटिन्छ। बाटो नै अनिश्चित छ भने गन्तव्य झन् अनिश्चित बन्छ। हाम्रो मुलुकमा एकअर्काको अस्तित्व स्वीकार गर्न सक्ने मानिस छैनन्। आफूले जे गर्छु त्यो सबै ठीक, अरूले गरेका सबै कार्य गलत।

के कारणले दुई तिहाइको सरकारले काम गर्न सकेन? किन सरकारले सामाजिक सुरक्षा दिन सकेन? किन सरकारले विकासमा पाइला चाल्न सकेन? जनपक्षिय काम गर्न दुई तिहाइको सरकारलाई कसले रोक्यो? किन चुक्यो? कहाँ चुक्यो? जनताहरुले यस्ता अनेकन प्रश्नको उत्तर खोजिरहेका छन्। तर, यस्ता प्रश्नको जवाफ दिने कसले ? राजनीतिका कारण उठेका प्रश्न र प्रसँगबाट भागेर सरकार प्रमुखहरु कहाँसम्म जान सक्छन ? इमान्दार पूर्वक जनतालाई यथार्त जवाफ दिने नेता खासमा नेता हुनसक्छ। सिर्जित प्रश्नहरू बारेमा नत वहस हुन्छ नत छलफल नै। बरु आफूलाई दुधले नुहाएको देउता सम्झिने मनोवाद चर्को छ। आफ्नो असफलतालाई लुकाउन अनेकन प्रोपगान्डा रच्नेमा सत्तासिनहरु व्यस्त देखिन्छन्।

राजनीति लाजनीतिमा परिणत

राजनीतिजस्तो पवित्र र सर्वप्रिय क्षेत्रलाई धुमिल बनाएर माछा मार्नेहरू धेरै छन्। राजनीतिलाई लाजनीतिमा परिणत गर्नेहरू उत्तिकै छन्। २१औँ शताब्दीमा विश्वका मानिसहरूले धेरै परिवर्तन गरिसकेका छन्। हाम्रै मित्रराष्ट चीन र भारतले ठूलो परिवर्तनसँगै विकास हासिल गरेका छन्। सन् १९४७ सम्म अंग्रेजको उपनिवेशमा रहेको भारत र १९४९ सम्म जापानका शासक, पुँजीपतिहरूको मस्तिका लागि अफिम र सुरासुन्दरी उत्पादन गर्न बाध्य चीनको वर्तमान अवस्था कहाँ छ? यसको उत्तर शायद दिनुपर्दैन।

चीनले आफूलाई कसरी शक्तिशाली राष्ट्रको सूचीमा उभ्याउन सफल भयो? नेपालले चीनलाई जान्न खोज्ने कि नखोज्ने? चीनको विशाल प्रगति कसरी सम्भव भयोरु यसको सोझो उत्तर छ, त्यहाँ इमानदारिताको राजनीतिको जन्म भयो। इमानदार राजनीतिककर्मीहरूले राजनीति गरे। हाम्रो देशका नेताहरूले जस्तो राजनीति गरेनन्। चीनका नेताहरूले मूल्यको राजनीति गरे, नेपालका नेताहरूले लाजनीति गरे। इमानदारिता, त्याग, निष्ठा, जवाफदेहिता र तार्किकताविनाको राजनीति, राजनीति होइन त्यो त लाजनीति हो। राजनीतिको नाममा गैरराजनीतिक क्रियाकलाप बढी हुन्छन्। यसलाई कसरी राजनीति मान्ने? परिणाम स्वरूप आजको बेथिति आइलाग्यो।

भनिन्छ, राजनीति पारदर्शी हुन्छ। राजनीति निष्पक्ष हुन्छ। राजनीति पवित्र हुन्छ। राजनीति नि:शर्त र नि:स्वार्थ हुन्छ। तर, नेपालमा राजनीतिलाई व्यक्ति, राजनीतिक दल र आसेपासेको भजनकीर्तनको रछ्यान बनाइयो। यस अवस्थामा सम्पूर्ण राजनीतिक दलले नैतिक रूपमा जिम्मेवारी लिएर देशलाई निकास दिनुपर्ने हो। तर, त्यो कसैबाट सम्भव छैन्। आपसी कहलमा विभक्त र व्यस्त बनेका राजनीतिक दल तथा सरकारलाई राम्रो खालको संयोजन गर्ने मान्छेको अभाव छ।

केही इमानदार राजनीतिककर्मीहरू पनि छन्। तर, ती मुकदर्शक भएर बाँचिराखेका छन्। वर्तमान स्थितिमा वाद, विचार र सिद्धान्तलाई खोलामा मिल्काइएको छ। जसरी जननेता स्व. मदन भण्डारीलाई त्रिशूलीमा मिल्काइएको थियो! भण्डारीजस्ता नेताहरूलाई खोलामा फालेर उनको विचारलाई पोलेर खान पल्केकाहरूले देशलाई विभिन्न शीर्षकमा लुटेर खान किन लाज मान्छन् र ? अदृश्य कमाईले तीनपुस्ते सम्पत्ति जोड्न केले रोकोस् ?

युवाको मौनता देशका लागि घातक

‘युवाको मौनता देशका लागि घातक हुन्छ,’ उल्लिखित भनाइ राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीको हो। अब प्रश्न उठ्छ, के साँच्चै युवा डा. केसीले भनेजस्तै मौन छन्? सरकारका गैरक्रियाकलाप सामु के युवा मुकदर्शक बनेकै हुन्? के युवाले देश, जनता र भविष्यमा असर पार्ने खालका देशी, विदेशी क्रियाकलापहरूलाई कार्यकर्तिय चिन्तनले हेरिरहेका छन्? के साँच्चै युवासँग गलत क्रियाकलापका विरुद्धमा ज्याहद छेड्ने साहस छैन? तथापि केही सामाजिक अभियन्ता, राजनीतिक विश्लेषक, समाजका प्रतिष्ठित व्यक्तिहरू सडकमा ओर्लिएको अवस्था छ। उनीहरूले विद्यमान भ्रष्टाचार, बलात्कार, अन्याय अत्यारको समूल अन्त्य र सत्ताको बर्खिलाप गरेको सुनिदै छ।

आर्थिक क्षेत्रमा शून्य सहनशीलता सहितको ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने नाराको सामुन्नेमा अनियमितता भइरहेको छ, युवा मौन छन्। भ्रष्टाचार व्याप्त छ, चोरी निकासी बढ्दो छ। बलात्कारका घटना दिनप्रतिदिन तीव्रत्तर रूपमा भइरहन्छन्। महँगीले सगर छुन आँटेको छ। जसले जे गरे पनि भएको छ। अर्को शब्दमा भन्दा कतै न्यायालयको नाममा त कतै जनताको नाममा, कतै राजनीतिक विचारको नाममा त कतै धर्मको नाममा अवैध धन्दाका पसलहरू चोकचोकमा खुलेका छन्। ती पसलहरूमा दिन दुई गुणा रात चारगुणाका दरले मनग्य व्यापार भइरहेको छ। त्यस्ता अवैध र अपराधिक पसलहरुका सटरहरुमा ताला लगाउन वर्तमान युवा पुस्ताले किन सक्दैन ? असली मान्छे, सचेत मान्छे, वैचारिक कार्यकता, निडर कार्यकर्ता हुनबाट नेपाली राजनीतिक दलका युवाहरुलाई कसले रोकेको छ ?

न्यायालयमा बसेकाहरूले मिलेमतोमा फैसला गरिरहेका छन्। दुराग्रहका आधारमा दोषीमाथि छानबिन र व्याख्या गर्ने काम अख्तियारबाट भएकै छ। सडकदेखि संसदसम्म, न्यायालयदेखि अख्तियारसम्म, सत्तापक्षदेखि प्रतिपक्षसम्म खुलेआम साठगाँठ चल्छ। देशको उच्च तहदेखि राजदूतसम्म बढीमा तेह्रदिनेभन्दा टाढाका मानिसहरू नियुक्ति गरिएको अवस्था छैन।

आलोचना पच्दैन

भनिन्छ, लोकतन्त्रमा रचनात्मक आलोचना पुरस्कृत हुन्छ। कुनै बेला बीपी कोइरालाले आलोचना गर्ने एक जना पत्रकारलाई पुरस्कृत गरेर उल्लिखित कुरालाई पुष्टिसमेत गरेका थिए। यहाँनेर अर्को प्रश्न जन्मिन्छ, के वर्तमान सत्ता सञ्चालन गरिरहेको सरकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विगत पढेको रहेछ त?

कडा प्रश्न सोधिएको भरमा पत्रकारलाई कार्यक्रम बन्द गर्न बाध्य बनाइएको धेरै भएको छैन। एउटा व्यङ्ग्यात्मक गीतमाथि प्रतिबन्ध लगाइएको छ। व्यङ्ग्यात्मक गीतसमेत नबुझेको नाटक रचेर सरकारी नेकपाले आफ्नोविरुद्धमा उभिनेहरूमाथि अरिङ्गाल बन्न कार्यकर्तालाई दिएको निर्देशन जगजाहेर छ। एउटा गायकले गीत गाउँदा आफूलाई कुकुरसँग तुलना किन गरिस्रु भनेर धम्की दिएको धेरै भएकै छैन। यत्रो अपमान सम्झिने भ्रातृ संगठनका नेताहरूले अरिङ्गाल पनि जन्तु (पन्छी) हो भन्ने कुरा बिर्सिए?

मलाई त लाग्छ, एउटा बफादार र इमानदार जनावर कुकुरसँग यस्तो शर्मिन्दा, नैतिक रूपमा कमजोर, बिचौलिया, ढोँगी, ढोके युवालाई तुलना गरिनु उल्टै गलत भयो। ओहो! गीतले समाजमा विद्यमान अराजकतालाई बाहिर ल्यायो। गीतलाई सम्मान गरेर ‘गल्तिहरू सुधार्न’ मैदानमा खटिनुपर्छ भन्नुको साटो गायकलाई सामाजिक बहिष्कारको धम्की दिनुले आलोचना स्वीकार गर्न सक्दैनन् भन्ने तर्कलाई बल दिन्छ।

सूचनाप्रविधिको माध्यमबाट देशका कुनाकन्दरामा बस्ने नेपाली जनताले सत्तापक्ष र प्रतिपक्षका हरेक गतिविधि नियालिरहेका छन्। सरकारको नेतृत्व गरिरहेको नेकपाले निश्चित पक्षको अधिनायकत्व खोजिरहेको र प्रतिपक्ष लासजस्तै बनेको चित्र जनताले आफ्नो मोबाइलमा देखिरहेका छन्। सरकारले गरिरहेको कारबाही आफ्नाभन्दा अरूलाई बढी छ। आफ्नाहरू सबै संरक्षित छन्। भ्रष्टाचार गर्नेहरू सरकारबाटै संरक्षित छन्। सरकारले आफ्नो पार्टी र आफ्ना भनिनेहरूका सबै कुरा जायज देख्ने चस्मा लगाएको छ। वरका छोडेर परकालाई मात्रै कारबाही गर्ने हो भने न त भ्रष्टाचार अन्त्य हुन्छ, न त पीडितहरूले नै न्याय पाउँछन् न देशको विकास हुन्छ, न त समृद्धि आउँछ, न त नेपाली जनता नै सुखी हुन्छन्।

श्रीमान् नभए श्रीमती, श्रीमती नभए श्रीमान्, भाइ नभए बुहारी, छोरी, ज्वाइँ, त्यति पनि नभए १३ दिने भन्दा परका मानिसहरू कोही छन् भने आफ्ना गुटका बाहेकलाई देखिनसहने खालको अस्थालाई कसरी राजनीति भन्ने? विचार समाजवाद, व्यवहार नातावाद गर्ने पनि राजनीति हुन्छ? पहिले गल्ती गर्ने पछि कानूनमा भएको व्यवस्था मलाई थाह छैन भन्ने? यसलाई कसरी राजनीति मान्ने? भ्रष्टाचार गर्दिन भनेर भ्रष्टारको अन्त्य हुन्छ? नयाँनयाँ सपनाहरू बाँडेर समृद्धि आउँछ? समृद्धिको नाममा गरिएको गलत व्याख्या र भ्रमको खेतीलाई हामीले राजनीति मानिदिनुपर्ने?

यस्तो किन भइरहेको छ?

१४ वर्ष जेल जीवन भोगेका केपी शर्मा ओली प्रधानमन्त्री छन्। उनले १४ वर्ष जेल जीवनमा पढेको कम्युनिजम र वर्तमान समयमा उनको नेतृत्वमा भइरहेका कामहरूबीच कुनै तादात्म्यता देखिँदैन। बरु ओलीमाथि आधुनिक राजनीतिका पिता मानिने मेकियाबेलीको प्रभाव बढी देखिन्छ। वैचारिक सिद्धान्त र व्यवहारबीचको तादात्म्यता नमिलेपछि देश डुब्छ। जनता निराश हुन्छन्। देश आफ्ना कारण बर्बात भएको कुरालाई नजरअन्दाज गरिन्छ। अनि कुइरोमा हराएको कागजस्तै बनिन्छ। भएकै यहि हो।

विचार एउटा छ, गर्नु परेको छ अर्कै। संयोग भनौं आज कार्ल मार्क्सको २०१औं जन्मदिन पनि हो। यहि अवसरमा सत्तारुढ नेकपाले २० हजार युवाहरुलाई मार्क्सवाद पढाउने उद्घोष गरेको सुनिन्छ। वर्तमान अवस्थालाई आधार मानेर भन्ने हो भने २० हजार युवाहरूभन्दा नेकपाको नेतृत्वमा रहेका र सरकारमा बसेका २० जनालाई मार्क्सवाद पढाउन बढि आवश्यक देखिन्छ। सत्य लुकाएर कार्यकर्ता अन्धभक्त बन्दै नेतृत्वलाई देवत्व करण गर्न आशक्त देखिन्छन् भने नेतृत्व विलाशीता र महंगो जीवनशैलीको गहिरो अभ्यासमा उत्रेको देखिन्छ।

अपराधको विरुद्धमा बोल्न नसक्नेहरू झन् बढी अपराधी हुन्। मार्क्सवादले जग्गा दलाली, बिचौलिया, घूसखोरीलाई पार्टीको महासचिव बनाउनु भन्दैन। यसरी सरकारी नेपकाका काम कुनै पनि कोर्णबाट हेर्दा कम्युनिष्टवादी देखिँदैन। अर्को अर्थमा भन्नुपर्दा प्रधानमन्त्री ओलीले कम्युनिजम् नामको डोकोमा भ्रष्टाचारी, घूसखोरी, नातावादी, कृपावादी, आफ्न्तवादी, पक्षपाती, गुटवादी, फुटवादी, चटुकेदार, ढोके, झोले, डोले, जग्गा दलाली, माफिया र अन्धभक्तलाई बोकेर हिँडिरहेका छन्। उनी र उनको पार्टीको नेतृत्वको विरुद्धमा बोल्ने आँट पछिल्लो पुस्ताका सायदै नेताहरूबाहेकमा देखिँदैन।

अचेल त कोही मनलाग्दी गरौँ भन्ने, कोही विरोध गरेजस्तो गरौँ भन्ने सल्लाहमा देश लुटिँदैछ जस्तो लाग्छ। वैचारिक नेताका नामले परिचित नेताहरूको बोली सार्थक नबन्नु, नेतृत्वलाई खबरदारी गर्न नसक्नु यस आरोपका बलिया उदाहरण हुन्। भारी गरुङ्गो भएर बोक्न अप्ठ्यारो हुने होइन। बोक्ने तरिका र भारीको वजनबीचको तादात्म्यता मिल्नुपर्छ। त्यसैले उल्लिखित जम्मै प्रश्नको उत्तर वर्तमान सरकार सञ्चालन गरिरहेको नेकपाबाट आउँदैन।

किन कि उसले राजनीतिक गरिरहेको छैन, लाजनीति गरिरहेको छ। राजनीति गर्दा त देश बन्न मुस्किल बन्छ भने लाजनीतिले देश बन्छ ? जनताहरुले कांग्रेस पार्टीले सञ्चालन गरेको सत्ता र कम्युनिष्ट पार्टी सञ्चालन गरेको सत्तामा कुनै भिन्नता देख्न सकिरहेका छैनन्। सत्ता बाहिर एउटा कुरा, सत्तामा पुगेपछि अर्कै व्यवहार गर्ने राजनीतिक दलहरुलाई जनताहरुले चिनि सकेका छन्।

मंहगी बढेको अवस्था छ। सरकार कर्मचारीलाई खुशी पार्न तलव बढाइरेहेको छ। हिँसाका घटनाहरु उस्तै छन्। अत्याचार उस्तै छ। तर सरकार गम्भीर हुन सकिरहेको छैन। अपराध रोक्ने, दुरुपयोगमाथि निगरानी राख्ने, न्याय दिने, डण्डीत गर्ने जिम्मा पाएका निकाय र प्रशासन निश्चित व्यक्तिको स्वार्थमा बन्धक हुँदा ‘सुशासन कुन चराको नाम’ हुँदैछ।

सरकारी जग्गा किन्नु हुँदैन र सार्वजनिक सम्पतिमा आँखा लगाउनु अपराध हो भन्ने कुरा न त कांग्रेसलाई थाह भयो, न त कम्युनिष्टलाई जानकारी। के सत्ता पक्ष ? के प्रतिपक्ष ? राजनीतिको नाममा गैर क्रियाकलाप र गलत धन्दा गरिरहेका छन्। सबैले पदको लागि कहल र अस्थिरता निम्त्याइरहेका छन्। जनता र देशको अवस्था वर्तमान व्यवस्थासँग कुनै नाता सम्बन्ध राख्दैन। यो कसरी राजनीति हुन सक्छ?

(नोट: यो लेख नेपाली पब्लिक डटकममा २०७६ साल बैशाख २२ गते पहिलो पटक प्रकाशित भएको थियो।)