काठमाडौँ। भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणे बुधवार मध्यान्ह नेपाल भ्रमणमा आउँदै छन्। मध्यान्ह भारतीय सैनिकको विशेष विमानमार्फत उनी काठमाडौं आउने छन्।
प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा चार सदस्य टोलीसहित उनी नेपाल आउन लागेका हुन्। भ्रमण टोलीमा पत्नी विणा पनि छिन्। तीन दिनको औपचारीक भ्रमणमा नरवणे कालिमाटी स्थित सोल्टी होटलमा बस्ने भएका छन्।
बुधवार नै उनी पत्नीसहित पशुपति दर्शनका लागी जाँदैछन्। साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आयोजना गरेको डिनरमा सहभागी हुँदैछन् । डिनर कार्यक्रम कहाँ हुने भन्नेबारे नेपाली सेनाले सार्वजनिक गरेको छैन।
नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी ग्रहण गर्न आउन लागेका नरवणे बिहीबार र शुक्रवार औपचारीक कार्यक्रममा सहभागी हुन्छन्। ‘आज औपचारीक कार्यक्रम छैन’ नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोषबल्लभ पौडेलले भने, ‘बिहीबार विहान सैनिक मञ्च र जंगी अड्डामा हुने औपचारीक कार्यक्रममा उहाँ सरिक हुनुहुन्छ ।’
बिहिबार विहान जंगीअड्डामा आयोजित समारोहमा नेपाली सेनाका लागी नरवणेले एम्बुलेन्स र स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ । जंगी अड्डामा सम्मान गारत निरिक्षण, प्रधान सेनापतीसँग औपचारीक छलफल र जेष्ठ रथीहरुसँग अन्तक्रियाको कार्यक्रम राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
बिहीबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी प्रदान गर्नेछिन्। त्यसपछि साइडलाईनमा राष्ट्रपति र भारतीय सेनाध्यक्षबीच शिष्टाचार भेट हुनेछ। साँझ नेपाली सेनाले जंगी अड्डामा आयोजना गरेको रात्रिभोजमा उनी सहभागी हुनेछन्। रात्रिभोजमा भारतीय डेलिगेशन टोली र नेपाली सेनाका सिनियर अधिकृत सहभागी हुने बताइएको छ।
शुक्रवार बिहान उनी शिवपुरीस्थित नेपाली सेनाको स्टाफ कलेज जानेछन् भने सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनी स्वदेश फर्कनेछन्।