काठमाडौँ। अमेरिकाको ह्वाइट हाउस कोरोनाभाइरस कोअर्डिनेटर डा.डेब्रोथ व्रिक्सले ‘महामारी नयाँ र खतरनाक चरणमा प्रवेश गरिरहेकोले त्यसका विरुद्ध अझ प्रभावकारी तरिकाहरु अपनाउनुपर्ने चेतावनी दिएका छन्।
ह्वाइट हाउसका पदाधिकारीहरुलाई पठाएको एउटा गोप्य मेमोमा उनले सो कुराको चेतावनी दिएका हुन्। उनको यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोनाभाइरससम्बन्धी भनाइको विपरीत छ। राष्ट्रपति ट्रम्पले कोरोनाभाइरस कमजोर बन्दै र किनार लाग्दै गइरहेको बताउँदै आएका छन्।
डा.ब्रिक्सले आफ्नो मेमोमा ट्रम्प र उनका सल्लाहकारहरुले कोरोनाभाइरसलाई नियन्त्रण गर्नेबारे पर्याप्त समय दिनुको सट्टा लकडाउनलाई कसरी पन्छाउने भन्ने कुरामा मात्रै बढी समय खर्चिइरहेको उल्लेख गरेका छन्।
‘हामी अत्यन्तै चासो राख्नुपर्ने र महामारीको सबैभन्दा घातक चरणमा प्रवेश गरिरहेका छौं,’ डा. व्रिक्सले भनेका छन्, ‘यो लकडाउनबारे हैन, हामीले गत मार्च वा अप्रिलदेखि लडकडाउन पनि गरेका छैनौं। यो भनेको अहिलेसम्म लागू नगरिइरहिएको आक्रमक र सन्तुलित विधिका बारेमा हो।’
त्यसो त विज्ञानका तथ्य र तर्कहरुलाई राजनीतिको बलमा पन्छाउँदै कोरोनाभाइरसका बारेमा अन्टसन्ट बोल्दै आएका राष्ट्रपति ट्रम्प वैज्ञानिक जगत्मा बदनाम छन्। कोरोनाभाइरसका सन्दर्भमा आफूसँग असहमत रहेकै कारण राष्ट्रपति ट्रम्पले आफ्ना शीर्षस्थ सल्लाहकार डा. एन्थोनी फाउचीलाई हटाउने चेतावनी पनि दिइसकेका छन्।
ट्रम्पको विज्ञानविरोधी हर्कतहरुलाई प्रतिरोध नगरेको भन्दै वैज्ञानिक जगत्मा शीर्षस्थमध्येका एक मानिने एड्सविज्ञ डा.व्रिक्स आफैं पनि आलोचित छन्। त्यसले उनको मानसम्मानलाई नै घटाउने काम गरिरहेको आरोप लाग्ने गरेको छ। यस पृष्ठभूमिमा अहिले सार्वजनिक भएको उनको यो मेमोले नयाँ तरंग सिर्जना गर्ने पक्का छ।
तथ्य र फोटो स्रोतः न्यूयोर्कटाइम्स