आमाले नै गर्थिन् छोरीहरुमाथि यौन उत्पीडन


काठमाडौँ। अमेरिकामा एक महिलालाई आफ्नै छोरी र सौतेनी छोरीको यौन शोषणको आरोपमा सात सय वर्षभन्दा बढीको कैद सुनाइएको छ। यस्तै यो मामिलामा लिजाका श्रीमान् माइकल लेशरलाई ४३८ वर्षको जेल सजाय सुनाइएको छ ।

४१ वर्षकी लिजा मेरी लेशरलाई नोभेम्बर २ तारिखमा ७२३ वर्षको जेल सजाय सुनाइएको हो । यो निर्णय न्यायाधीस स्टीफन ब्राउनले सुनाएका हुन् र अमेरिकी कानूनको हिसाबले यस्तो घटनामा यो अधिकतम सजाय हो ।

लिजामाथि बलात्कार र यौन उत्पीडन जस्ता गम्भीर आरोप लागेका छन् । रिपोर्टका अनुसार लिजाले आफ्ना श्रीमानसँग मिलेर आफ्नै छोरी र सौतेनी छोरीको थुप्रै वर्षसम्म यौन शोषण गरेकी थिइन् ।

यो घटनाबारे सबैभन्दा पहिले सन् २००७ मा रिपोर्ट गरिएको थियो । पीडितहरुको अनुरोधमा त्यसपछि यो केसलाई पुनः खोलिएको थियो । यो मामिलामा कुरा गर्दै असिस्टेन्ट अटोर्नी कोर्टनी श्लेकले पीडितले थुप्रै वर्षसम्म यी राक्षससँग जीवन बिताएको बताए ।

लेसरलाई प्रत्येक फर्स्ट डिग्री बलात्कारका लागि ९९ वर्षको सजाय तोकिएको छ, सेकेन्ड डिग्री अप्राकृतिक यौन सम्बन्धका लागि २० वर्षको सजाय र फर्स्ट डिग्रीको यौन उत्पीडनका लागि १० वर्षको सजाय तोकिएको छ । यससँगै उनलाई ७ सय २३ वर्षको सजाय निश्चित गरिएको छ।

उनले पीडितले एक दशकभन्दा पनि बढी समयसम्म विभिन्न प्रकारको समस्या झेलेको बताए । ‘यो केसमा उनीहरुलाई जुन सजाय दिइएको छ, उनीहरु यसैका लायक हुन् र यो घटनामा न्याय भएको छ,’ उनले भने।