काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) को ५५औँ खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले पराजित गरेको छ। जीतसँगै दिल्ली अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।
अब ५ नोभेम्बरमा हुने पहिलो क्वालिफायरमा उसले मुम्बई इन्डियन्सको सामना गर्नेछ। उता, हारका बावजुद बैंग्लुरुले प्लेअफमा स्थान बनाउन सफल भएको छ। बैंग्लुरु तेस्रो स्थानमा रहेको छ।
अबुधाबीमा टस हारेर पहिलो ब्याटिङ गर्दै बैंग्लुरुले १५३ रनको लक्ष्य दिएको थियो। जवाफमा दिल्लीले १९ ओभरमा ४ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्यायो।
दिल्लीलाई जीत दिलाउन अजिंका रहाने र शिखर धवनले अर्धशतकीय पारी खेले। रहानले सर्वाधिक ६० रनको योगदान दिए भने धवनले ५४ रन बनाए । बैंग्लुरुका लागि शहबाज अहमदले २ विकेट लिए।
यसअघि, देवदत्त पडिक्कलको सिजनको पाँचौ अर्धशतकको मद्दतले बैंग्लुरुले ७ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । एबी डिविलियर्सले ३५ रन बनाए । दिल्लीका लागि म्यान अफ द म्याच एनरिच नोर्टजेले ३ तथा कगिसो रबाडाले २ विकेट लिए ।
प्लेअफका लागि मुम्बई, दिल्ली र बैंग्लुरुले आफ्नो स्थान पक्का गरेका छन् । चौथो टोलीको फैसला मंगलबार मुम्बई र हैदराबदबीचको खेलले गर्नेछ । सनराइजर्स हैदराबादले आजको खेल जिते प्लेअफ अफमा स्थान बनाउनेछ भने हारे कोलकता नाइट राइडर्स प्लेअफमा पुग्ने चौथो टिम बन्नेछ । – एजेन्सी