प्रचण्ड-नेपालले ओलीसँग सती जान हुँदैन: डा. भट्टराई



काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सती नजान सुझाव दिएका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले अहिलेको परिस्थितिमा प्रधानमन्त्री ओली आफ्नो कूबाटोमा अघि बढेको स्पष्ट पार्दै प्रचण्डलाई ओलीसँगै सती नजान सुझाव दिएका हुन्।

नाम तोकेर उल्लेख नगरेपनि प्रचण्डलगायतका नेताहरुलाई सामाजिक सञ्जाल ट्वीटर मार्फत भट्टराईले प्रधानमन्त्री ओली आफ्नो कूबाटोमा दृढ रहेकाले अरुले उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने भनेर प्रश्न गरेका छन्। प्रचण्डलगायत नेकपा नेता–कार्यककर्तालाई भट्टराईले समाजवादको बाटो बनाउन विद्रोह गर्न आग्रहसमेत गरेका छन्।

‘विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता र कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको?’ भट्टराईले ट्वीटरमा लेखेका छन्।