अनलाइनबाट गणक र सुपरिवेक्षकको विज्ञापन खोलिँदै



काठमाडौँ। राष्ट्रिय जनगणनाका लागि अनलाइनमार्फत गणक र सुपरिवेक्षकको विज्ञापन खोलिने छ।

अघिल्लो पटक जस्तो अगामी जनगणनमा शिक्षकलाई प्रयोग नगरिने भएको छ। यद्यपि सुपरिवेक्षमकमा भने शिक्षकलाई राखिने भएको छ। गणकमा भने बेरोजगार रहेका युवायुवतीलाई प्राथमिकतामा राख्ने तयारी छ।

केन्द्रीय तथ्याङ्क विभाग राष्ट्रिय जनगणना २०७८ का निर्देशक डुन्डीराज लामिछानेका अनुसार अनलाइन भर्ना प्रक्रियाका लागि एक, दुई महिनाको समय दिइने छ। अनलाइनमा आवेदन परेपछि सर्ट लिस्टमा नाम निकालिन्छ। गणकका लागि १२ कक्षा पास भएको हुनुपर्छ। सुपरिवेक्षकका लागि स्नातक तह पास गरेको हुनुपर्छ।

१ महिना अवधिका लागि गणक र २ महिना अवधिका लागि सुपरिवेक्षक लिने तयारी गरिएको छ। सुपरिवेक्षकले वैशाख २४ देखि जेठ १४ सम्म गणना फारम भर्ने काम गर्छन्। मुख्य गणना जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुनेछ।

राष्ट्रिय जनगणना कार्यमा आँकडा सङ्कलन, विश्लेषणदेखि प्रशोधनको कार्यसम्म झन्डै ६० हजार जनशक्ति लाग्ने अनुमान गरिएको छ। जनगणनाका लागि फिल्डमा मात्रै करिब ४२ हजार गणक र ९ हजार सुपरिवेक्षक परिचालन गर्ने तयारी गरिएको निर्देशक लामिछानेले जानकारी दिए।

यस वर्ष शिक्षकको स्थानमा बेरोजगार युवायुवतीलाई गणकको रूपमा परिचालन गर्ने तयारी थालिएको छ। उनीहरुले १ महिना अस्थायी रोजगारीको अवसर पाउनेछन्।