स्वीकृती बिना साईकल लेन निर्माण



काठमाडौं। ललितपुर महानगरपालिकाले साइकलका लागि छुट्टै लेनको निर्माण सुरु गरेको छ तर त्यसका लागि सडक विभागले स्वीकृति भने दिएको छैन।

महानगरपालिकाले काठमाडौँ र ललितपुर जोड्ने मुख्य सडकका रूपमा रहेको थापाथली–पुल्चोक–जावलाखेल–लगनखेल–मङ्गलबजार खण्डमा साइकल चलाउने गरी छुट्टै लेनको निर्माण सुरु गरेको हो। सो सडकखण्ड सडक विभाग अन्तर्गत रहेको छ। सो सडकखण्डको लम्बाइ करिब दस किलोमिटर छ।

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले सो सडकखण्डमा साइकल लेन निर्माण गरी साइकल सञ्चालनका लागि सडक विभागसँग पटकपटक लिखित अनुमति माग गर्दा पनि विभागबाट अनुमति प्राप्त हुन नसकेको गुुनासो गरे।

सडक विभागले भने महानगरपालिकाले आफूूखुसी साइकल लेन निर्माण गरेको भनाइ छ। सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले ललितपुर महानगरपालिकाले सडक विभागको अनुमतिविना नै आफूखुसी मुख्य सडकमा साइकल लेनको तयारी गरिरहेको बताए।

उनले सो सडकखण्डमा विभागको अनुमतिविना साइकल चलाउन नमिल्ने स्पष्ट पार्नुभयो। साइकल लेनका लागि सडकको दुवैतिर डेढ डेढ मिटर छुट्याइएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ।