काठमाडौं। चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज) २० जना संघीय सांसदले उपचार खर्च लिएका छन्।
असोज २१ गते नेकपा सांसद नविना लामाले १ लाख ३७ हजार ६४० रुपैयाँ उपचार खर्च लिएको खुलासा भएको छ।
तत्कालिन नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुकी पूर्वअध्यक्ष समेत रहेकी लामाको हाल आफ्नै व्यावसाय पनि छ। उनले ०७६ बैशाखदेखि काठमाडौंको मीनभवन चोकमा ‘रिमठिम रेस्टुरेन्ट’ सञ्चालनमा ल्याएकी छन्।
गत असोज २८ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएका लिलानाथ श्रेष्ठले असोज २१ गते ९ हजार ३७० रुपैयाँ उपचार खर्च लिएको देखिन्छ।
यस्तै, चालु आवको तीन महिनामा उपचार खर्च लिने सांसदहरुमा दुर्गाप्रसाद उपाध्याय, मीना पाण्डे, मिनाक्षी झा, बिजय सुब्बा लगायत छन्।
उपाध्यायले असोज ८ गते एक लाख आठ हजार १४७ रुपैयाँ, पाण्डेले साउन २३ गते एक लाख ३७ हजार ७८३ रुपैयाँ, झाले असोज २१ गते एक लाख ५८ हजार ३९७ रुपैयाँ लिएकी छन्। सोही मितिमा सांसद बिजय सुब्बाले २२ हजार ३७७ रुपैयाँ उपचार खर्च लिएको विवरण छ।
सांसदहरु तारादेवी भट्ट, उमा रेग्मी, हिरा गुरुङ, शारता देवी भट्ट, घनश्याम खतिवडा, विमला विक, स्मृतिनारायण चौधरी, नरपति लुवार, शान्ति कुमारी अधिकारी, अगमप्रसाद बान्तवा राई, कलुदेवी विश्वकर्मा, यज्ञहादुर बोगटी, सुमित्रा बिसीले पनि उपचार खर्च लिएका छन्।
चालु आवमै सांसदद्धय ज्ञान कुमारी छन्त्याल र सानु सिवाले पनि उपचार खर्च लिएका थिए। मुटु रोगसँगको लडाई हारेकी सांसद छन्त्यालको गत १७ असारमा निधन भएको थियो। मृगौला र मुटुको समस्याबाट पीडित सानु सिवाको असोज २८ गते निधन भएको थियो।
सांसद सुविधा व्यवस्थापन महाशाखाका अनुसार ऐनले सांसदहरुलाई उपचार खर्च उपलब्ध गराउँदा सरकारी अस्पतालमा उपचार गराएको भए पुरै र निजी अस्पतालमा उपचार गराएको भए आधा रकम दिने मापदण्ड छ।
सांसदले बिल पेश गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संसद सचिवालयकै अधिकारीहरु रहेको चिकित्सक बोर्डको निर्णय, संसद सचिवालयका महासचिव र सचिवस्तरीय स्वीकृतिबाट भुक्तानी दिइन्छ।