“कर्णालीको विवाद मिलाउन कर्णालीलाई नै दिउ”



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशको विवाद मिलाउने जिम्मा सोही प्रदेशलाई दिनुपर्ने बताएका छन्।

गत असोज २६ गते नेकपा कर्णालीका सहइन्चार्ज समेत रहेका सदस्य यमलाल कँडेलसहित १८ जना सदस्यहरुले मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि विवाद केन्द्रमा पुगेको थियो।

अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र प्रचण्डले कर्णालीका नेताहरुलाई काठमाडौँ बोलाएर छुटछुट्टै छलफल गरे पनि विवाद साम्य भएको छैन।

यसअघि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रदेश सरकार संघको प्रशासनिक इकाई मात्र रहेको भनेर अभिव्यक्ति दिएपछि संघीयताबारे थप विवाद सिर्जना भएको थियो।

मंगलबार प्रधानमन्त्री ओलीसँगको छलफलमा अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशको विवादमा केन्द्रले हस्तक्षेप गर्न नहुने तर्क अघि सारेका छन्।