रानीरहडा सामूदायिक खानेपानी आयोजना सञ्चालनमा



कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिकाले सामुदायिक “रानीरहडा खानेपानी” आयोजना सम्पन्न गरेको छ।

शनिबार एक कार्यक्रमको आयोजना गरेर गाउँपालिका अध्यक्ष धिरबहादुर बिष्ट र उपाध्यक्ष मनशोभा बुढाले संयुक्त रूपमा उक्त खानेपानी आयोजनाको उद्घाटन गरेका छन्।

हेल्भेटास नेपालको आर्थिक तथा हुरूण्डेक नेपालको प्राविधिक सहयोगमा २ करोड ५५ लाख १२ हजार ७ सय ९७ रूपैयाँ लागतमा उक्त खानेपानी आयोजना सम्पन्न भएको अध्यक्ष बिष्टको भनाई छ।

आयोजनामा हेल्भेटासको १ करोड, नरहरिनाथ गाउँपालिकाको १ करोड लगानि र बाँकी स्थानीयको श्रमदान रहेकोछ।

वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयवासी उक्त आयोजनाबाट प्रत्यक्ष लाभान्वित बनेका छन्।

सम्पन्न भएको आयोजनाले ३८२ धाराहरू सञ्चालनमा ल्याएको छ। बाँकी २५० घरधुरीमा धाराहरू जडानका लागि सर्वेक्षण कार्य बाकी छ।

२०७६ मंसीर १ गतेबाट आयोजना निर्माणका लागि गापाको वडा नम्बर ९ मा बैठक सम्पन्न भएको र मङ्सिर ५ देखी आयोजनाको निर्माण कार्य सुरु गरिएको थियो।