बलात्कार प्रयास गर्ने पुरुषको महिलाले गरिन हत्या



धनकुटा। जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर १ की एक महिलाले आफूमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी छन्।

मारेककटहहरेको घुमाउनेकी ३० बर्षीया कमला गुरुङले स्थानीय लीलबहादुर गुरुङको हत्या गरेकी हुन्।

लीलबहादुरले बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको पाइएको धनकुटा प्रहरीले जानकारी दिएको छ।

राती ढोका फुटाएर आफूमाथि बलात्कार प्रयास गर्न खोजेपछि खुकुरी प्रहार गरेको महिलाले प्रहरीलाई बयान दिएकी छन्।

महिलालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धानले बलात्कारको प्रतिकारमा हत्या भएको देखिएको पुष्टि गरेको छ।

प्रहरी प्रमुख गोबिन्द अधिकारीका अनुसार मृतक लीलबहादुरको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।

राति घरमा आएर लीलबहादुरले ढोका ढकढकाएर खोल्न आग्रह गरेको र भित्रबाट नखोलेपछि बाहिरबाटै चुकुल उत्काई भित्र पसेर आफूमाथि बलात्कार प्रयास गरेपछि आफूले खुकुरीले हिर्काउँदा उनको मृत्यु भएको कमलाले बयान दिएकी छन्।

खुकुरी प्रहारपछि बेहोसीमै भागेका लीलबहादुर बुधबार बिहान स्थानीय लाहुरे खोल्सीमा मृतवस्थामा फेला परेको प्रहरीले जनाएको छ।