श्रमजीवी पत्रकार ऐन खारेज गर्न माग



काठमाडौं। विभिन्‍न सञ्चार गृहबाट कोरोना महामारीको बहानामा पीडित बनाइएका पत्रकार तथा कर्मचारीहरुले बालुवाटारमा थाल थटाएर प्रदर्शन गरेका छन्।

मंगलबार नेपाल पत्रकार महासंघ, श्रमजीवी हित प्रवद्र्धन समिति र सञ्चारगृहका पीडित पत्रकार/कर्मचारी संयुक्त संघर्ष समितिको अगुवाइमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने र नगराउने खै सरकार कता छ ? भन्दै सरकारको ध्यानाकर्षण गराउन बालुवाटारमा थाल थटाएर प्रदर्शन गरेका हुन् । श्रमजीवी पत्रकार ऐन सरकारले कार्यान्वयन गराउन नसकेको भन्दै उनीहरुले नारावाजी गरेका थिए।

सञ्चारगृहको ज्यादति र शोषणको विषयमा पटक पटक आवाज उठाएपनि कोरोना महामारीलाई देखाएर तलव सुविधा नदिएको र जवरजस्ती कामबाट निकालेको भन्दै उनीहरु आन्दोलित भएका हुन्।

प्रदर्शनमा पत्रकार महासंघका महासचिव रमेश बिष्टले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न नसके यसलाई खारेज गर्नुपर्ने बताए। कोरोना महामारीकाबीच श्रमजिवी पत्रकारहरु भोकभोकै मर्नुपर्ने अवस्था आएपनि राज्यले भने कुनै चासो नदिएको उहाको भनाई छ।

उनीहरु असोज १५ गतेदेखि २७ गतेसम्म आन्दोलनको पहिलो चरणमा २० गतेसम्म बानेश्वरमा ५ दिने रिले अनसन बसेका थिए। समितिले आफुहरुको माग सुनुवाइ नभएको भन्दै अर्को चरणको आन्दोलनको घोषणा गर्ने चेतावनी पनि दिएको छ।