जनप्रतिनिधिसहित नेकपाका दुई दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश



जाजरकोट। जाजरकोटको शिवालय गाउँपालिकामा (नेकपा) बाट निर्वाचित दुई जना जनप्रतिनिधिसहित दुई दर्जनभन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

बुधबार शिवालय ५ थालारैकरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा तत्कालिन नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा बिजयी दुई जना वडा सदस्यसहित दुई दर्जनभन्दा धेरै स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन।

वडा नम्बर ५ का वडा सदस्य कर्णबहादुर खत्री र अर्का वडा नैनसरा बिकलगायत नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। यस्तै कांग्रेस प्रवेश गर्नेमा नेकपाका वडा सचिव शेरबहादुर खत्री, युवा संघका नेता डिलबहादुर खत्री, डिलबहादुर क्षेत्री, गणेश शाही, केशवप्रसाद रेग्मी, धन खत्री, वीरबहादुर खत्री, जय बहादुर नेपाली, वशन्त खत्री, देवबहादुर शाही, खगिसरा खत्री, प्रेमबहादुर शाही, मंगल खत्री, गजबहादुर पाइजामगर, भरत शाही, हेमन्तबहादुर शाहीलगायत रहेका छन्।

नवप्रवेशीलाई पूर्व सभासद एवं नेपाली कांग्रेसका युवा नेता राजिवविक्रम शाह, नेपाली कांग्रेस जाजरकोटका सचिव खडक बिसी, युवा नेता शेरबहादुर शाही, वडा सभापति भक्तबहादुर शाहीलगायतले पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका छन्।

गाउँपालिका अध्यक्षको रबैयाले नेकपा छाड्नेको लहर बढ्दै

नवप्रवेशीहरुले नेकपाबाट निर्वाचित गाउँपालिका अध्यक्षको रबैयाबाट आजित भएर कांग्रेसमा प्रवेश गरेको बताएका छन्। शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीको रबैयाका कारण शिवालयमा पछिल्लो समय नेकपा छाड्नेको संख्यामा बृद्धि भएको छ।

गाउँपालिका अध्यक्ष शाहीले पार्टीभित्रै अन्य जनप्रतिनिधिलाई बेवास्ता गदैं अघि बढ्न थालेको र आफन्तलाई मात्र गाउँपालिकामा भर्ती गर्ने प्रवृती नसुध्रीएपछि लोकतान्त्रिक पार्टी कांग्रेसको चार तारे झण्डामुनी गोलबन्द हुनुको बिकल्प नरहेको नेकपा छाड्नेहरु बताउछन्।

गाउँपालिका अध्यक्ष शाहीको कामकारबाही देखेर आजित भइसकेको नेकपा भित्रै रहेका कार्यकर्ताको पनि गुनासो छ। गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखी अध्यक्ष शाहीले आफ्ना दाईभाई र आफन्तलाई मात्र विकास निर्माणका अधिकांश ठेक्का दिने गरेका छन्। उनले निर्वाचित भइसकेकापछि गाउँमा विकास निर्माणमा ध्यान दिनु त परको कुरा आफ्नै टेक्टर,ट्रिपर, डोजर, स्काभेटर खरिद गरेर कमाउ धन्दामा लागेको शिवालयका स्थानीयको गुनासो छ।

आशा गरेर जिताएको अध्यक्षबाट यस्तो धोका होला भन्ने नसोचेका मतदाता आगामी निर्वाचनमा भोट खेर जान नदिन असल व्यक्ति चुन्ने योजनामा रहेको बताउछन्। अध्यक्ष शाहीले आफनै पार्टीबाट निर्वाचित उपाध्यक्षलाई बाइपास गर्दै एकल निर्णय गर्ने समेत गर्ने गरेका छन्।