डा. केसीको जीवनरक्षाका लागि आयोगको गम्भीर ध्यानाकर्षण



काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक बन्दै गइरहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

बुधबार आयोगका प्रवक्ता वेद भट्टराईले एक विज्ञप्ति जारी गर्दै भदौ २९ गतेदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था चिन्ताजनक हुँदै गएकोप्रति गम्भिर ध्यानकर्षण भएको जनाएका हुन्। विज्ञप्तिमा डा.केसीसँग यसअघि सरकारले गरेका सम्झौताहरु र त्यसको कार्यान्वयनको स्थिति सार्वजनिक गर्नसमेत सरकारलाई निर्देशन दिइएको छ।

आयोगले डा. केसीको स्वास्थ्य अवस्थाबारे सरकारले चासो नदिएको आरोप लगाउँदै केसीसँग विगतमा गरिएका सम्झौताको पालना गर्न र उनको स्वास्थ्य तथा उचित मागहरुप्रति समयमै संवेदनशील बन्न सरकारलाई आग्रह समेत गरेको छ।

यसअघि आयोगको बाग्मती प्रदेश कार्यालयको टोलीले त्रिवि शिक्षण अस्पताल पुगेर डा.केसीको अवस्थाबारे अनुगमनसमेत गरेको थियो। सो अनुगमन टोली केसीको स्वास्थ्य अवस्थालाई सरकाले गम्भिरतापूर्वक नलिएको निश्कर्ष निकालेको छ।

विज्ञप्तिमा आयोगले वार्ता र संवादको माध्यमबाटै कुनै पनि समस्याको समाधान हुने भएकोले त्यसतर्फ समयमै सार्थक पहल गरी निजको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘‘वार्ता र संवादको माध्यमबाटै कुनै पनि समस्याको समाधान हुने भएकोले त्यसतर्फ समयमै सार्थक पहल गरी निजको जीवन रक्षा गर्न आयोग सरकारलाई आग्रह गर्दछ।’