कोरोना संक्रमण र कोभिड-१९ मा के फरक छ ?



काठमाडौँ। नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ जना पुगेको छ भने सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ पुगेको छ । संक्रमण निको हुनेको संख्या भने ६७ हजार ५ सय ४२ पुगेको छ।

सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ भनिरहँदा कति संक्रमित र कति रोगी छन् भन्ने छुट्याइएको छैन् । सक्रिय संक्रमित संख्याभित्र कोरोना पोजेटिभ संक्रमित र कोभिड–१९ का लक्षणसहितका रोगी संख्या राखिएको छ । सरकारले संक्रमित र रोगीको संख्या छुटाएको पाइँदैन । केही संक्रमितले

कोरोना पोजेटिभमात्रै भएको हो, कोभिड–१९ भएको होइन भन्दै सामान्य तरिकाले लिएको पनि पाइन्छ । कोरोना पोजेटिभ भनेको के हो ? संक्रमणमात्रै हुँदा के हुन्छ? कोभिड–१९ भनेको के हो कोभिड–१९ हुँदा के हुन्छ ?

मानिसहरूमा अझै अन्योल छ: डा.शेरबहादुर पुन

सार्स–कोभ–२ भनेर वैज्ञानिक नाम छ । मानिसहरूले त्यसलाई कोरोनाभाइरस भन्ने गरेका छन् । वास्तवमा त्यो देखापर्नु भनेको भाइरसको संक्रमणमात्रै हो । तर जब त्यो भाइरसले शरीरभित्र असर गरेर लक्षणहरु देखापर्न थाल्छन्, तब त्यसलाई कोभिड–१९ भन्ने गरिन्छ । यी दुई छुट्टाछुट्टै अवस्था हुन् । त्यसैले वैज्ञानिक तरिकाले बुझ्ने हो भने कुनै मानिसलाई कोभिड–१९ भएछ भनियो भने उहाँ बिरामी हुनुभएको रहेछ भनेर बुभm्ने हो । कोरोना पोजेटिभ देखिएको र १४ दिनसम्म केही लक्षण देखिएको छैन भने कोभिड–१९ भनिदैन ।

संक्रमणमात्रै हुनुलाई वैज्ञानिक तरिकाले भन्दा ‘सार्स कोरोना सिओभि २’ भनेर लेख्नु प(यो । त्यसलाई सामान्य मानिसले बुझ्ने भाषामा कोरोनाभाइरस संक्रमण भएको रहेछ भन्ने हो । यदि लक्षणको विकास हुन थाल्यो भने त्यसलाई कोभिड–१९ भनेर छुट्याउने हो । यी दुईमध्ये एउटा संक्रमणमात्र हो, अर्कोचाहिँ रोग भयो ।

संक्रमणमात्रै हुँदा शरीरमा के हुन्छ भनेर आधिकारिक पुष्टि भएको छैन । कतैकतै संक्रमण निको भइसकेपछि छातीमा दाग भएका कुरा आएका छन् यद्यपि यसको पुष्टि भएको छैन । साधारणतया जसलाई संक्रमणमात्रै भएको छ, उनीहरूलाई खासै समस्या आएको देखिएको छैन तर सबैमा यो लागु नहुन पनि सक्छ ।

संक्रमणमात्रै भएकालाई स्वास्थ्यमा लामो समयसम्म प्रभाव परेको भन्ने अहिलेसम्म देखिएको छैन । यसलाई मैले किन ‘अहिलेसम्म’ मात्रै भनेको भन्दा संक्रमणमात्रै भएकालाई ६÷७ महिनापछि कुनै समस्या आउला तर अहिलेसम्म कोरोना संक्रमणमात्रै भएकालाई कुनै समस्या देखिएको छैन । कोरोना भाइरस एकदम चलाख भएकाले अहिले संक्रमणमात्रै हुँदा स्वास्थ्यमा समस्या छैन भनेर ढुक्क हुनु हुँदैन, पछि देखिन पनि सक्छ । त्यसैले हामीले हरेक कुरा आजको मितिसम्म के छ भनेर हेर्नुपर्छ ।

कोभिड–१९ बाट मुक्त भएपछि पनि केही व्यक्तिलाई लामो समयसम्म स्वास्थ्यमा समस्या आउन सक्छ । सुरुवाती अवस्थामा पहिलो लकडाउनपछि ९९।४ प्रतिशत कोरोना संक्रमित लक्षणविहीन थिए । सुरुवाती अवस्थामा लक्षणविहीन संक्रमितले तातो पानी, बेसारपानी खाएर, योगा गरेर संक्रमण निको भैहाल्छ भन्ने थियो । पहिलो लकडाउन सकिएको केही समयपछि तराई क्षेत्रबाट लक्षणसहितका मानिस अस्पताल आउन थाले । क्रमशः लक्षणसहितका संक्रमित बढ्न थालेपछि कोरोनाभाइरस सामान्य नभएर कडा खालको रहेछ भन्ने भयो ।

कतिपय मानिस कोरोना संक्रमित भएर आइसियु, भेन्टिलेटरमा पुग्नुभयो भयो अनि कतिको मृत्यु पनि भएको हुँदा त्यसलाई उहाँहरूले राम्रो मान्ने कुरा भएन । कोरोना पोजेटिभ देखिएर १४ दिनसम्म आइसोलेशनमा बसेर निको हुने ठुलो समूहले भने कोरोना केही होइन भन्ने कुराहरू गरे । सुरुमा संक्रमित भएर निको भएकाहरूको आवाज ठुलो छ ।

यसैबीच, कोरोना नै छैन, हो–हल्लामात्रै गरिएको हो भन्नेहरू पनि आए । त्यसैले मानिसहरूमा अझै पनि अन्योल देखिएको आभाष हुन्छ । नेपालमा मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ भने विश्वभर ३ प्रतिशत संक्रमितको मृत्यु भएको छ। सामान्य लक्षण भएर निको भएका, संक्रमणमात्रै भएर निको भएका, संक्रमण भएर आइसियूबाट निस्किएका, निको भएकाहरूको आ–आफ्नै भोगाइ बुझाइ छ । त्यसैले कोरोना संक्रमण बुझाइको बारेमा ठुलो विभाजन पनि आएको छ । हामीले हेलचक्य्राइँ गर्न भएन। संक्रमणलाई कसरी लिने भन्ने कुराचाहिँ कसले कसरी भोगे, त्यसरी नै बुझे ।

विभिन्न युरोपियन मुलुक, इटाली, अमेरिकाको अवस्था हेरेर आत्तिने एकथरी छन्। यी सबै कुरालाई समीक्षा गरेर कसरी अगाडि बढ्ने भन्ने कुरा हो । मानौं एउटै परिवारका ५ जनालाई संक्रमण भएमा ती संक्रमितमध्ये कुनलाई बढी समस्या देखिन सक्छ भन्ने थाहा हुँदैन । त्यसैले हामी सबैले सावधानी अपनाउन जरुरी छ । कोरोना लाग्ने बित्तिकै मरिहाल्ने होइन भन्दै हामीले बेवास्ता गरेको खण्डमा झन् ठुलो समस्या आउन सक्छ । अहिले हामी सबैको जिम्मेवारी भनेको कोरोना संक्रमण फैलन नदिने हो ।

कोरोना पोजेटिभ हुँदा आफूलाई केही नभए पनि मबाट घरपरिवार, समुदायमा रहेका दीर्घरोगी, प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसलाई सर्न सक्छ कि भनेर सावधानी आपनाउन जरुरी छ । अर्को कुरा, युवालाई पनि कोरोना संक्रमण भएर स्वास्थ्य समस्या देखिएका तथा मृत्युसम्म भएका उदाहरण भएकाले बेवास्ता नगरी सतर्क रहनुपर्छ।

कोरोना पोजेटिभलाई हेलचक्य्राइँ नगरौँ: डा.प्रभाव अधिकारी

केही मानिसलाई कोरोना पोजेटिभ भएर समयमै निको होला । लक्षणविहीन संक्रमितले जनस्वास्थ्यको मापदण्ड ख्याल नगर्दा दीर्घरोगी, रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसमा संक्रमण हुन सक्छ । उनीहरुलाई कोभिड–१९ को लक्षण देखिएर समस्या सिर्जना हुने हुुँदा संक्रमित र रोग लागेका दुवैथरीले ख्याल गर्न जरुरी छ ।

कोरोना संक्रमितबाट दीर्घरोगीलाई स¥यो भने अस्पतालहरूमा आइसियु बेड पाउन गाह्रो हुँदै गएको छ । कोरोना पोजेटिभलाई सामान्य भनेर हेलचक्य्राइँ गरेमा आफ्नै परिवार तथा समुदायमा धनजनको क्षति नहोला भन्न सकिँदैन । संक्रमित र संक्रमित भएर रोगी भएका तथा संक्रमण नभएकाहरूले कोरोना संक्रमण फैलन नदिने सामाजिक दायित्व हो भनेर सम्झनुपर्छ ।

कोरोना संक्रमण भएपछि लक्षणहरू देखिन पनि सक्छ र नदेखिन पछि सक्छ । कोभिड–१९ हुँदा पनि लक्षण आउन पनि सक्छ र नआउन पनि सक्छ । संक्रमितमा लक्षण नदेखिए पनि अरुलाई सर्न सक्छ भन्ने कुरा थाहा पाउनुपर्छ । नेपालको सन्दर्भमा ८० प्रतिशत संक्रमितमा सामान्यखालको ज्वरो आउने, हल्का शरीर दुख्ने, रुघाखोकी लाग्ने, कसै कसैलाई थुक निल्न गाह्रो हुने, गन्ध थाहा नपाउने पनि हुन सक्छ । बाँकी २० प्रतिशतमा निमोनियाको लक्षणदेखि लिएर सास फेर्न गाह्रो हुने, छाती दुख्ने, खोक्दा वा लामो सास फेर्दा छाती भारी हुन सक्छ । कोभिड–१९ भएर अझै गाह्रो भयो भने बिरामीलाई अक्सिजन चाहिने अवस्था आउन सक्छ । त्यो भनेको हातखुट्टा, ओठ निलो हुनुका साथै चक्कर लाग्ने हुन्छ ।

कोभिड– १९ को लक्षण देखिँदा मानिसहरू रुघाखोकी भनेर बस्ने पनि हुन्छन् । यो मौसमी फ्लूको समय पनि हो । दुईवटै उस्तैउस्तै देखिँदा के भएको भन्ने थाहा नपाएर धेरैजसो मानिसले फरक छुट्याउन सक्दैनन् । प्रतिरोधात्मक क्षमता भएको व्यक्ति हुनुहुन्छ, दीर्घरोगी हुनुहुन्न र चुरोट खानुहुन्न भने कोभिड–१९ कारण सामान्य खालको रुघाखोकी, शरीर दुख्ने भएमा पनि चाँडै निको हुन्छ ।

कोभिड–१९ भएर सामान्य खालको लक्षण देखिएर सावधानी नअपनाएको खण्डमा घरमा भएका दीर्घरोगी र समुदायमा अन्य मानिसमा संक्रमण सरेर उनीहरुलाई सिकिस्त बनाउन पनि सक्छ । कोरोना पोेजेटिभ देखिएकाहरूले आफुलाई मात्रै हेर्नु हुँदैन । घरपरिवार र समाजलाई जोगाउने जिम्मेवारी उनीहरूको पनि हुन्छ । लक्षणविहीन संक्रमितबाट अन्यमा मानिसलाई कोरोना सर्ने भएकाले मौसमी फ्लूको लक्षण अनि कोरोनाको लक्षण देखिने बित्तिकै पिसिआर परीक्षण गर्नुपर्छ । पिसिआर परीक्षण शुल्क महँगो भएका कारण पनि आशंका लागेका मानिसले परीक्षण गर्न सकेका छैनन् । दुई हजार शुल्क तिरेर सबैले कोरोना परीक्षण गराउन सक्दैनन् ।

आशंका लागेका व्यक्तिले परीक्षण गर्न चाहेमा सरकारले परीक्षणका लागि सहज वातावरण सिर्जना गरिदिनु पर्छ । कोभिड–१९ भएको आशंका लागेर परीक्षण गर्न सम्भव नहुनेहरू घरमै आइसोलेशनमा बस्नुपर्छ । सम्पर्कमा आएका व्यक्तिलाई कोरोना पोजेटिभ भएपनि अनिवार्य रुपमा परीक्षण गराएर आइसोलेशनमा बस्नुपर्छ । रातोपाटीबाट साभार।