तीन सिफ्ट गरी २४ घण्टा काम गर्नुहोस्; अध्यक्ष तिमिल्सिना



काठमाडौँ। सिंहदरबारस्थित पुतली बगैचामा निर्माणाधीन संघीय संसदको भवन निरीक्षण गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आयोजना समयभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन्।

कोरोना भाईरस (कोभिड १९) का कारण निर्माण कार्यमा निर्माणकार्य उत्साहापूर्वक रुपमा अगाडि बढिरहेकोमा अध्यक्ष तिमल्सिनाले खुसी व्यक्त गरेका छन्।

अध्यक्ष तिमिल्सिनाले अहिले संघीय संसदको लागि बैठक बस्ने सभाहल भाडामा लिएर काम चलाउदै आएको परिप्रेक्षमा कम्तिमा पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाको सभाहल छिट्टै नै तयार गरी सञ्चालन गर्न सकेमा राष्ट्रलाई आर्थिक भार कम हुने कुरा बताएका छन्।

निर्धारित समय अगाबै निर्माण कार्य सम्पन्न गर्नका लागि दुई सिफ्ट होइन तीन सिफ्ट गरी २४ घण्टा काम गर्ने गरी योजना बनाउनका लागि निर्माण कम्पनी तथा सरोकारवालाहरुलाई निर्देशन दिए।

सार्वजनिक रुपमा निर्माण गरिने विकास निर्माणका योजनाहरुलाई समय अगाबै सम्पन्न गर्नका लागि केवल ८ घण्टामात्र काम गरेर सम्भव नहुने भएकाले सिंहदरबारबाटै २४ घण्टा काम गरी समय अगावै निर्माण कार्य सम्पन्न गरी अन्य निर्माण कार्यमा संलग्न पक्षहरुलाई प्रोत्साहितसमेत गर्नका लागि निर्माण कम्पनीलाई सुझाब दिए। करिब ९ अर्वको लागतमा बन्न लागेको यस भवनको निर्माण कार्य ३ वर्षभित्र सम्पन्न गरिने लक्ष्य रहेको छ।