काठमाडौँ। कालापानी क्षेत्रमा भारतले सुरक्षागस्ती बढाएपछि नेपालले पनि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) थप्ने तयारी थालेको छ।
नेपाल सरकारले दार्चुला जिल्लाको ब्याँस गाउँपालिका–१, स्थित तल्लो कौवामा बीओपी स्थापना गर्ने तयारीमा जुटेको बताएको छ। तल्लो कौवा गत वैशाखमा बीओपी स्थापना भएको छाङरुभन्दा करिब सात किलोमिटर पश्चिममा पर्छ।
भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका क्षेत्र समेटेर नेपालले प्रशासनिक तथा राजनीतिक नक्सा सार्वजनिक गरेपछि भारतले त्यसक्षेत्रमा सुरक्षागस्ती बढाएको छ।
भारतले २ नोभेम्बर २०१९ मा नेपाली भूमिसमेत आफ्नोतर्फ पारेर राजनीतिक नक्सा जारी गरेपछि नेपालमा उक्त कदमको चर्को विरोध भएको थियो।
नेपालले कूटनीतिक संवादमार्फत समस्याको समाधान खोजेको थियो। तर, नेपालको प्रस्तावलाई अस्वीकार नगरे पनि भारत वार्ताका लागि तयार भएन।