चैतमा स्थगित त्रिविका परिक्षा मंसिर दोस्रो साता सञ्चालन हुने



काठमाडौँ। त्रिविले (कोभिड–१९) का कारण गत चैतमा स्थगित परीक्षा सम्बन्धि सूचना जारी गरेको छ।

मंगलबार त्रिविले आगामी मंसिरको दोस्रो हप्तादेखि स्थगित परिक्षा सञ्चालन गर्ने आसयको सूचना जारी गरेको हो। उक्त सूचना जारी गरेसँगै त्रिविले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।

त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो।

त्रिविले विद्यार्थीलाई पायक पर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै स्थगित परीक्षाको तयारी थाल्न निर्देशन दिर्इएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)काले जानकारी दिएको छ।

त्रिविले कोरोनाका कारणले सबै रोकिएका परीक्षा छठलगत्तै गर्ने गरी दशैँ अगाडि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्रचार गरिसकेको बताइएको छ। त्रिविले विद्यार्थी थोरै भएका परीक्षा भने दशैँ र तिहारको बीचमा गर्ने तयारी थालेको छ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘यही अहिलेको स्थितिमा हामी छठपछि परीक्षा लिने तयारीमा छौँ। स्थिति अहिलेको भन्दा जटिल भयो भने फेरि पनि के गर्ने भन्ने हुन्छ, होइन भने छठपछि सबै परीक्षा हुन्छन्।’ पनिकाले आजै नै सबै डिन कार्यालयलाई परीक्षाको तयारी थाल्नका लागि परिपत्र गर्ने उहाँले जानकारी दिइसकेको छ।

त्रिविले भौतिक दूरी र स्वास्थ्यको मापदण्ड तोकेर परीक्षा लिने व्यवस्था गर्न लागेको हो। पनिकाले वार्षिक परीक्षा र सम्बन्धित डिन कार्यालयले सेमेष्टर परीक्षा लिनेछन्। त्रिविका रजिष्ट्रार प्रा.डा.पेशल दाहालले स्थगित भएका सबै परीक्षा सञ्चालन गर्नका लागि तयार गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइसकेको बताए।

उनले भने, ‘हामीले सबै सम्बन्धित कार्यालयलाई छठलगत्तै परीक्षा सञ्चालनका लागि आवश्यक तयारी गर्न निर्देशन दिइसकेका छौ। अब चाँडै नै परीक्षाको सञ्चालनको तयारीमा ती कार्यालय जुट्नेछन्। भौतिकरुपमा विद्यार्थीलाई उपस्थित गराएर परीक्षा लिन भनेको छौँ।’ त्रिविले अहिले पनि न्यूनसङ्ख्या भएका परीक्षा सञ्चालन गरिरहेको छ। उनले फाराम भरेकाको परीक्षा पहिले गर्ने र त्यसपछि अन्य परीक्षा सञ्चालन गर्ने जानकारी दिएका छन्।