नुवाकोटकी २८ वर्षीया सोमिकाले जन्माइन् पाँच शिशु



काठमाडौँ। तपाईं हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौं।

तर, सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै साथ पाँच शिशु जन्माएकी छिन्।

उनले सोमबार अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्म दिएको अस्पतालका निर्देशक डा.सङ्गीताकौशल मिश्रले जानकारी दिइन्। तीमध्ये एक मृत जन्मिएका छन्। बाँकी चार भने सकुशल छन्।

उनका अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ। ‘आमा र बच्चाको अवस्था राम्रो छ। अक्सिजन दिनु परेको छैन,’ उनले भनिन्, ‘अहिले बच्चाहरुलाई शिशु उपचार सघन कक्षमा राखिएको छ।’

डा. मिश्रका अनुसार एक महिलाबाट पाँच शिशु विरलै जन्मन्छन्। जीवित शिशुमा चार जना छोरी हुन्। ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्राको आठ सय ग्राम, तेस्राको १.९ किलोग्राम र चौथाको १.६ ग्राम छ।

डा.मिश्रका अनुसार यसअघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो। अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीको नेतृत्वमा डा.दिप्ति श्रेष्ठ, डा.नमिता सिङ्देन र डा.मुकेश कुमारले शल्यक्रिया गरेका थिए।