पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध ओसार पसारमा संलग्न ५ जनालाई कास्कीको तुम्केबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१६ जोगमाणी घर भएका अथित गुरुङ, समिर गुरुङ, बाटुलेचौरका मोहित खवास, पोखरा–१९ का मनोज विक, धादिङ घर भएका ३० वर्षीय कुमार ठकुरी छन्।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको कास्कीका एसपी जीवन श्रेष्ठले जानकारी दिए।
उनीहरुको साथबाट डाईजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल, बुर्फिनर्फिन ७ एम्पुल र १ केजी २२३ ग्राम गाँजा बरामद गरेको एसपी श्रेष्ठले बताए।
उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ विपरितको कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।