भक्तपुर। एक १७ वर्षीया किशोरी फरक–फरक ठाउँमा सार्वजनिक बसभित्र दुई दिन सामूहिक बलात्कारमा परेकी छन्। पहिलो दिन एक र दोस्रो दिन दुई युवकले जबरजस्ती गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उक्त घटनामा संलग्न तीन युवामध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
फरार रहेका युवकले ती किशोरीलाई काठमाडौंको रत्नपार्कमा लठ्याउने औषधि मिसाइएको पानी खुवाई नियन्त्रणमा लिएर भक्तपुर ल्याएको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। परिसरका अधिकारीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी–१० का २२ वर्षीय नीरकुमार खड्का र सिन्धुपाल्चोककै जुगल गाउँपालिका–४ पाङताङका २१ वर्षीय सूर्य श्रेष्ठ छन्। खड्का भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे र श्रेष्ठ भक्तपुर नगरपालिका–९ च्याम्हासिंह बस्ने गरेको खुलेको छ।
खड्का र श्रेष्ठ बा। ३ ख २६१२ नम्बरको गाडीका क्रमशः चालक र सहचालक हुन्। उनीहरूले पार्किङ गरी राखेको त्यही गाडीभित्र शनिबार बिहान ११ देखि राति ९ः३० बजेसम्म पटक–पटक सामूहिक बलात्कार गरेको बयान पीडित किशोरीले दिएको प्रहरीले जनाएको छ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक केशवकुमार थेबेले पीडित किशोरीलाई फरार युवकले शुक्रबार बिहान ११ बजे काठमाडौंबाट सार्वजनिक गाडीमै भक्तपुर ल्याएको पाइएको जानकारी दिए। ती युवकले सूर्यविनायक नगरपालिकास्थित एक ठाउँमा पार्किङ नै गरिराखेको बसभित्र लगेर पटक–पटक जबरजस्ती गरेको ती किशोरीले बताएको थेबेको भनाइ छ। ती युवकले शुक्रबार दिउँसोदेखि शनिबार बिहान १० बजेसम्म बलात्कार गरेका थिए।
‘किशोरीले बताएअनुसार शनिबार बिहान ११ बजे उनलाई नीरकुमार र सूर्यको जिम्मा लगाएर पहिलो युवक फरार भएका थिए’, थेबेले भने, ‘आफ्नो जिम्मामा आएपछि नीरकुमार र सूर्यले पनि उक्त दिन बेलुका ९ः३० सम्म पटक–पटक सामूहिक बलात्कार गरेको किशोरीले बताएकी छन्।’
उनीहरूले चाँगुनारायण नगरपालिका–९ तव्याखुसी खोला किनारको सडकमा सामूहिक बलात्कार गरेको खुलेको छ। उनीहरूले बिहान ११ बजेदेखि आफ्नो गाडीभित्र किशोरीमाथि जबरजस्ती गरिरहे पनि सँगै पार्किङ गरी राखेका अन्य गाडीका चालक तथा सहचालकले बेलुका ९ः३० बजे मात्रै त्यसको सुइँको पाएका थिए। लगत्तै उनीहरूले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट टोली खटिएको थेबेले बताए। यो समाचार अन्नपूर्ण दैनिकले प्रकाशित गरेको छ।