काठमाडौँ। अमेरिकाले अबदेखि कम्युनिष्ट पार्टीको सदस्यलाई स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने भएको छ।
अमेरिकाले कम्युनिस्ट पार्टीको सदस्यलाई स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने गरी एक नीति नै सार्वजनिक गरेको हो। यूएस सिटिजन एन्ड इमिग्रेसन सर्भिसेस (यूएससीआईएस) ले शुक्रबार घोषणा गरेको यस सम्बन्धी नीति अनुसार सामान्य अवस्थामा आप्रवासी बन्न चाहने व्यक्ति कम्युनिस्ट वा अन्य कुनै अधिनायकवादी पार्टीको सदस्य छ भने अमेरिकाका लागि अमान्य हुने प्रष्ट पारिएको छ।
अमेरिकाले सार्वजनिक गरेको पछिल्लो नीति खासगरी चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यप्रति लक्षित रहेको विश्लेषण भइरहेको छ। यद्दपी यो कानुनले अबदेखि कुनै पनि मुलुकका कम्युनिस्ट पार्टीका सदस्यले अमेरिकामा पीआर तथा नागरिकता नपाउने निश्चित गरेको छ।
सार्वजनिक गरिएको घोषणामा रोजागारी, खाद्यान्न र बाँच्नका लागि आवश्यक कुनै कुरा प्राप्त गर्ने उदेश्यले मात्र कम्युनिस्ट पार्टीमा प्रवेश गरेको प्रमाणित गर्न सक्नेलाई भने अपवादका रुपमा नागरिकता मात्रै भएपनि उपलब्ध गराइनेछ।
यसअघि सन् १९५० मा पनि शीतयुद्धका क्रममा अमेरिकाले यस्तै नीति अगाडी सारेको थियो । विश्लेषकहरले अमेरिकामाथिको सुरक्षा खतरालाई सम्बोधन गर्न यस्तो कानून ल्याइएको अनुमान गरेका छन।