मप विश्वविद्यालयमा अनलाइन परिक्षा सम्पन्न, शत प्रतिशत विद्यार्थी सहभागी



सुर्खेत। मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को जोखिमका कारण स्थगित बनेका परिक्षाहरु अनलाइन प्रणालीबाट लिएको छ।

आठ घण्टाको समयावधि रहेको परीक्षामा बिहान ८ बजे ईमेलमार्फत विद्यार्थीले प्रश्नपत्र प्राप्त गर्नेछन्। उक्त प्रश्नको जवाफ घरमै बसेर लेखी विद्यार्थीले बेलुकी ४ बजेसम्म पठाई सक्नुपर्नेछ नियम तोकिएको थियो।

गत भदौ १२ गते मिड टर्म परीक्षा लिएको विश्वविद्यालयले शनिबारदेखि अन्तिम परीक्षा सम्पन्न गरेको छ। विश्वविद्यालयले पहिलो चरणमा स्नातक तहको सातौं र स्नातकोत्तर तहको तेस्रो सेमेष्टरको परीक्षा अनलाइनबाट सम्पन्न गरेको परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतले बताएको छ।

परीक्षा व्यवस्थापन प्रमुख आनन्दप्रसाद सुवेदीका अनुसार परीक्षामा १ हजार ३ सय २० जना विद्यार्थी सहभागी छन्। परीक्षाको पहिलो दिन शनिबार स्नातक सातौं सेमेष्टरका चार वटा संकायका विद्यार्थी सहभागी भएका थिए।

प्रमुख सुवेदीले भौतिक रुपमा परीक्षा लिँदा केही विद्यार्थी छुट्ने गरेकोमा अनलाइनबाट शत प्रतिशत विद्यार्थी सहभागी भएको जनाए। परीक्षाका लागि १० वटा परीक्षा केन्द्र तोकिएको छ। सुर्खेतमा ५ वटा, रुकुम पश्चिम, बाँके र बर्दियामा एक÷एक वटा र काठमाडौँमा दुई वटा परीक्षा केन्द्र रहेको उनको भनाइ छ।

विज्ञान तथा प्रविधिबाहेक ईन्जिनियरिङ, व्यवस्थापन, मानविकी र सामाजिक शास्त्र र शिक्षा शास्त्र संकायका विद्यार्थीले अनलाईनबाट परीक्षा दिएका हुन्। कात्तिक ३ गतेसम्म चल्ने परीक्षामा आइतबारदेखि स्नातकोत्तर तेस्रो सेमेष्टरका विद्यार्थी पनि सहभागी हुनेछन्।