काठमाडौँ। प्रदेश ५ सरकारले दाङको भालुवाङ र अर्घाखाचीको केही क्षेत्रलाई स्थायी राजधानी तोक्न गरेको प्रस्ताव गरेसँगै बुटवलमा विरोध सुरु भएपछि बुटवल उपमहानगरपालिकाका १२ स्थानलाई निषेधित क्षत्रे घोषणा गरिएको छ।
शुक्रबारदेखि नै रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव अविलम्ब फिर्ता गर्न माग गर्दै नेपाली कांग्रेस रुपन्देहीले आन्दोलन सुरु गरेपछि सम्भावित जोखिमलाई दृष्टिगत गरेर निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले १८ गतेदेखि २१ गतेसम्म विहान ६ बजेदेखि साँझ ६ बजेसम्म ५ जनाभन्दा बढीको समूहमा हिड्डुल गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। त्यस्तै १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको छ।
यस्तै मन्त्रालयहरू रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोक र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गलाई पनि निषेधित क्षेत्र घोषणा गरिएको छ।