कोरोना संक्रमितको संख्या ८४ हजार नाघ्यो



काठमाडौँ। बितेको २४ घण्टामा देशभर २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी दिएका हुन्। योसँगै देशभर संक्रमितको कु्ल संख्या ८४,५७० पुगेको गौतमले बताएका छन्।

आज १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो। यस्तै आज काठमाडौंमा १००१, भक्तपुरमा ६७ र ललितपुरमा १०९ गरी उपत्यकामा ११७७ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए।

यस्तै देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ७७३ र होम आइसोलेशनमा ११ हजार ५२९ रहेका छन्। यस्तै २४ घण्टामा थप २०४४ जना निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या ६२,७४० पुगेको गौतमले बताए।