बाँकेमा कोरोना संक्रमणबाट २५ वर्षीया युवतीको ज्यान गयो


बाँके। जिल्लाको भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित एक जना युवतीको मृत्यु भएको छ।

शुक्रबार अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराइरहेकी नेपालगन्ज वडा नम्बर ९ बाँकेगाउँकी २५ वर्षीया युवतीको मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनीले गत भदौ २९ गते कोरोना परीक्षणका लागि स्वाव दिएकी थिइन्। भदौ ३० गते उनीको रिपोर्ट पोजेटिभ आएको थियो।

त्यसैदिन उनीलाई भेरी अस्पताल भर्ना गरिएको थियो। रेमडिसिभिर र प्लाज्मा थेरापी विधिबाट उपचार गर्दासमेत उनीलाई बचाउन नसकिएको जिल्ला कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए। योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ जना पुगेको छ।