काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघद्वारा आयोजित मास्क वितरण अभियान उद्घाटन गरेका छन्।
उपत्यकासहित विभिन्न जिल्लामा कोरोना संक्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गर्दै नेपाल विद्यार्थी संघका महामन्त्री मनोज बैद्यको आर्थिक सहयोगमा उक्त अभियान सुरु गरिएको हो।
प्रवक्ता शर्माले शुक्रबार राजधानीको नयाँ बानेश्वरबाट मास्क वितरण अभियान सुरु गरेका हुन्। दैनिक करिव २० हजारको संख्यामा मास्क वितरण गरिने र करिव चार लाख मास्क बितरण गरिने महामन्त्री बैद्यले बताए।
राजधानीको बानेश्वरमा मास्क वितरण अभियानमा पुगेका कांग्रेस प्रवक्ता शर्माले कोरोना संक्रमितको संख्या बढ्दै जादा आम सर्वसाधारण र श्रमिकलाई मास्क वितरण गर्नु आवश्यक रहेको बताए।
पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता शर्माले सरकारलाई मात्र हेरेर केही नहुने भन्दै कोरोना निययन्त्रणका लागि सवैले आफ्नो स्थानबाट योगदान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
त्यस्तै नेविसंघ महामन्त्री बैद्यले राज्यले जनतासँग कर उठाए पनि जनताप्रति उत्तरदायि हुन नसकेको भन्दै आफूले मास्क वितरण अभियान सुरु गरेको बताए।
साथै बैद्यले मास्क वितरण अभियानले सरकारलाई नैतिक प्रश्न खडा दाबी गरे। यसअघि बैद्यले बिभिन्न स्थानमा समस्यामा परेका व्यक्तिलाई खाजा खुवाउने अभियान सञ्चालन गरेका थिए।