रानीपोखरीको मन्दिरमा सजियो सुनको गजुर



काठमाडौँ। रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको शीर्षमा गजुर स्थापना गरिएको छ।

प्रताप मल्लकालीन शिखर शैलीमा पुनर्निर्माण भएको मन्दिरमा बिधिपूर्वक पूजाआजा गरी गजुर राखिएको हो। मन्दिरको शीर्षमा स्थापित मुख्य गजुर १२३.७ केजी तामा प्रयोग गरी निर्माण गरिएकोे हो।

जसमा करिब २५ तोला सुनको जलप लगाइएको छ। उक्त मुख्य गजुरको उँचाइ ६ फिट १० इञ्च छ। त्यसैगरी मन्दिरको चारै दिशामा रहेका चारवटा मण्डप शैलीका बुर्जाको शीर्षमा पनि गजुर राखिएको छ। ती साना प्रत्येक गजुरको तौल ३.३३ केजी रहेको छ जसमा १.९३ तोलाका दरले सुनको जलप लगाइएको छ।

गजुरको निर्माण ललितपुर महानगरपालिका–१२ का कालीगढ विनोद शाक्यको नेतृत्वमा भएको हो। २० दिन लगाएर निर्माण गरिएको गजुरमा सुनका जलप लगाउन पाँच दिन लागेको थियो। गजुर स्थापनासँगै बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण लगभग सम्पन्न भएको छ। त्यसैगरी, पोखरीको माथिल्लो पर्खाल वरिपरि सौन्दर्यकरण तथा बत्ति राख्ने काम चलिरहेको छ।

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेको रानीपोखरीमा केही दिनअघि पानी भरिएको थियो। शिखर शैलीको मन्दिरको पुनर्निर्माण भएपछि र पोखरीमा पानी भरिएपछि रानीपोखरी क्षेत्र आकर्षक देखिएको छ। लकडाउनका कारण केही महिना पुनर्निर्माणका काम रोकिएको थियो । पछि स्वास्थ्य मापदण्ड अपनाएर काम पुनः सुरु गरिएको हो।

गजुर स्थापनाको अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा।चन्द्रबहादुर श्रेष्ठ, सहसचिव भरत प्रसाद अर्याल, सिडिई धुव्र प्रसाद पौडेल उपस्थित थियो। त्यसैगरी, पुरातत्व विभाग एवं निर्माण कम्पनीका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।

तस्बिर: मुकुन्द कालिकोटे