काठमाडौँ। गान्धी जयन्तीका अवसरमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले सेमिनार आयोजना गरेको छ।
आज बिहिबार राजधानीमा आयोजित सेमिनारमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गान्धीको विचारलाई विश्वले मानवतावादी विचारको रुपमा मान्यता दिएको बताए।
मन्त्री ज्ञवालीले धेरै नेपाली गान्धीको मानवतावादी विचारबाट प्रभावित भएका र नेपालको राजनीति पनि गान्धीको शान्तिपूर्ण र मानवतावादी सोचबाट प्रभावित भएकोमासमेत जोड दिए।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले रंगभेदी लडाईमा गान्धीको योगदान व्यवहारिक भएको स्मरण गर्दै गान्धीको जन्मदिनलाई अन्तराष्ट्रिय शान्ति दिवसको रुपमा स्विकार गरेर संयुक्त राष्ट्रसंघले पनि गान्धीको विचारलाई सम्मान गरेको बताए।
उनले गान्धीको अहिंशावादी विचारबाट नेपाल पनि गहिरोसँग प्रधावित भएकोमा जोड दिदै नेपालका गान्धी विचारका प्रचारक तुलसी मेहर श्रेष्ठको स्मरण गर्नु गरे। राजदूत विनय मोहन क्वात्राले गान्धीले सामाजिक विकास र विश्व शान्तिका लागि हिंशाको अन्त्यमा जोड दिए।
नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले नेपाल र नेपालीप्रति गान्धीको अगाथ स्नेह रहेको स्मरण गर्दै आफ्ना पिता गणेशमान सिंह गान्धीबाट प्रभावित भएर प्रधानमन्त्री पद त्याग्नु भएको स्मरण गरे।
भारतीय जनतापार्टीका विदेश मामला प्रमुख विजय चौथाइवालेले सत्य, अहिंशा र करुणा गान्धीको दर्शनको मूल पक्ष भएकोमा जोड दिए। गान्धीले मानवताको विकासमा विश्वलाई बाटो देखाएको बताए। उनले गान्धीको दर्शनबाट विश्वले सँधै मानवताको पाठ सिक्नु पर्नेमा जोड दिए।
जनता समाजवादी पार्टिका वरिष्ठ नेता राजेन्द्र महतोले गान्धीको दर्शनमा स्वदेशीपनमा आधारित जीवनपद्धति र अहिंशामा आधारित अर्थ राजनीतिको समिश्रण रहेकोमा जोड दिदै गान्धीको विचारले विश्वमानवलाई ऋणि बनाएको बताए।
उनले नेपालीहरु पनि गान्धीको अहिंशाको विचारबाट गहिरोसँग प्रभावित भएको बताउँदै आफ्ना राजनीतिक गुरु गजेन्द्र नारायण सिंहबाट आफूले पनि समानता र पहिचानका लागि अहिंशाको राजनीति सिकेको स्मरण गरे।
नागरिक समाजका अगुवा सुन्दरमणी दिक्षितले पूर्वीय दर्शनको गहनता गान्धीको विचारमा गहिरोसँग जोडिएको बताए। उनले गान्धीले पूर्वीय दर्शनको महानता र मानवतावादी दर्शनलाई देश र समाजको विकाससँग जोडेर प्रस्तुत गरे।
नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक दीपक अधिकारीले समाज र राष्ट्रको मूल स्वभावको ज्ञान गान्धीको दर्शनमा पाईनेमा जोड दिदै त्यसबाट समाज र राष्ट्रको मौलिक विकास हुन सक्ने बताए।
तस्बिर: मुकुन्द कालिकोटे