काठमाडौँ। कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा पहिलो पटक कर्णाली प्रदेश अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन वरिष्ठ चिकित्सक हरिप्रसाद सापकोटाको मृत्यु भएको छ।
बाँकेको खजुरा गाउँपालिका ३ का ५९ वर्षीय डा.सापकोटाको कोरोना संक्रमणबाट बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।
गत भदौ २९ गते संक्रमण पुष्टि भएका सापकोटालाई श्वास फेर्न गाह्रो भएपछि असोज १ गते नेपालगञ्जको भेरी अस्पतालमा भर्ना गरिएको थियो।
बिहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि बिहान ९ बजे उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो। भेन्टिलेटरमा राखेर उपचार गरिरहेकै समयमा बिहीबार दिउँसो ३ बजे सापकोटा मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।