मनसुन बाहिरिन अझै एक साता लाग्ने



काठमाडौँ। नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ।

मनसुन पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भई सकेको मौसमविद् निराजन सापकोटाले बताए। “पश्चिमी भूभागबाट बाहिरिन शुरु भएको मनसुन पूर्वी भूभागसम्म पुग्न एक हप्ता लाग्नेछ”, उनले भने। उनका अनुसार मनसुन पश्चिमी भूभागबाट शुरु भई पूर्वी भूभागबाट अन्त्य हुनेगर्छ।

गतवर्ष पनि मनसुन अक्टोबरको पहिलो हप्ता बाहिरिएको थियो। मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ भए पनि विगत दुई–तीन वर्षदेखि मनसुन अक्टोबरसम्म पुग्ने गरेको बताइएको छ। हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

राति प्रदेश नं १, वाग्मती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र प्रदेश नं ५ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव ८ र अधिकतम तापक्रम ३० दशमलव ४ डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२ दशमलव ६ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ७ डिग्री सेल्सियस रहेको छ।