पर्यटकीय क्षेत्र कालिञ्चोकमा चलहपहल बढ्यो



दोलखा। जिल्लाको प्रसिद्ध पर्यटकीय क्षेत्र कालिञ्चोकमा मानवीय चहलपहल बढ्न थालेको छ।

नेपालीहरुको महामा चाँड विजया दशमी, तिहार तथा छठको अवसरमा देशका विभिन्न धार्मीक तथा पर्यटकीय क्षेत्रहरुमा चहलपहल बढ्न थालेसँगै कालिञ्चोक पनि चलायमान बनेको हो।

विश्व महामारीका रुपमा फैलिएको ‘कोभिड-१९’ को मारमा परको काञ्चिोकका ब्यापारी, ब्यवसायीहरु चौपट बनेको व्यवसायलाई पुन: लयमा फर्काउने कोसिसमा देखिन्छन्।

देशको संघीय राजधानी काठमाडौँदेखि १४८ किलोमिटको दुरीमा रहेको रमणीय क्षेत्र कालिञ्चोक पुग्न जिल्लाको सदरमुकाम चरिकोटदेखि १८ किलोमिटर यात्रा गर्नुपर्छ। विगत ६ महिनादेखि ठप्प बनेको कालिञ्चोकका साथै आसपासका बजार पसलहरु सामान्य अवस्थामा फर्किन थालेका छन्। महामारीका विरुद्ध सचेतना र सास्थ्य सुरक्षाका साथ व्यवसायहरु सूचारु भइरहेको स्थानीयहरु बताउछन्।                       

कालिञ्चोकमै होटल व्यवसाय गरिरहेका आशिष मैनाली महामारीको असरमा सरकारले नजरअन्दाज गरेको दाबी गर्छन्। उनी भन्छन्, ‘यस्तो महामारीका बेला सरकारले हामी व्यवसायीहरुलाई कुनै प्रकारको संरक्षण तथा राहतको व्यवस्था गरेन। कुनै पहल गरेन। व्यवसाय चौपट बनेका छन्। हजारौंको रोजगार गुमेको छ। यस्तो बेलामा हामीले सरकारबाट कुनै प्रकारको राहत पाएनौं।’

आफ्नै गाउँठाउँमा केही गरौं भन्ने भावना भएका युवा व्यवसायी मैनाली कालिञ्चोक घुम्न आउने पर्यटकलाई प्याकेजको सुविधा रहेको बताउछन्। उनले भने, ‘कालिञ्चोक धार्मीक तथा पर्यटकीय अस्तित्व बोकेको स्थान हो। महामारीका कारण ठप्प बनेको कालिञ्चोक पुनः सुचारु भएको छ। हामीले पर्यटकलाई सक्दो सम्मानका साथ सेवा प्रदान गर्ने गरेका छौं। यस्तो बेलामा आउने पर्यटक हाम्रा लागि झन् देवता नै हुनुहुन्छ।’

कुमार शिवाकोटी र भरत पाण्डेसँग मिलेर माता कालिञ्चोक नामक होटेल सञ्चालन गरिरहेका मैनाली आफूकहाँ आएका पर्यटकको लागि खान, बस्न र घुम्नका लागि प्याकेजमा गाडिदेखि तस्बिर र भिडियोको लागि क्यामेरासम्म उपलब्ध गराउँदै आएको बताउछन्।