काठमाडौँ। कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–५ खल्ला खोलामा बलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
सुर्खेत जिल्ला भेरीगङ्गा नगरपालिका– १२ निवासी चालक २८ वर्षीय कर्णबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय कालीकोटले जनाएको छ। सुर्खेतदेखि जुम्ला जाँदै गरेको लु २ च २४१२ नम्बरको जीप सडकबाट अनियन्त्रित भई दुर्घटना भएको जनाइएको छ।
कालीकोटका प्रहरी प्रमुख चन्दबहादुर शाहका अनुसार सहचालक सुर्खेत निवासी दीपक डाँगी घाइते भएको र स्थानीय मेडिकलमा उपचार भइरहेको छ। जीपमा ६ जना सवार रहेको बताइएको छ।